Ads

अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण तयारी पूरा


काठमाडौँ । जागरुक युवा अभियान नेपालले आयोजना गरेको यस वर्षको अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको सम्पूर्ण तयारी पूरा भएको छ । सो अभियानले विगत १० वर्षदेखि अंग्रेजी नयाँ वर्षको जनवरी १ का दिन यो दिवस मनाउँदै आएको छ । यस वर्षको टोपी दिवसको नारा नेपाली टोपी: नेपाली पहिचान तय गरेको संस्थाले एकहप्तादेखि आफ्नो तयारी गरिरहेको छ ।

यस वर्ष पुस १६ गते बिहान ८ बजे वसन्तपुरमा जम्मा भइ प्रभातफेरि कार्यक्रमको आयोजना गरिएको अभियानका संयोजक घनश्याम श्रेष्ठले जानकारी दिए । विसं २०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारले नेपाली राष्ट्रिय पोशाकलाई औपचारिकरूपमा हटाएपछि त्यसलाई स–सम्मान फिर्ता हुनुपर्ने मागसहित सरकारलाई दबाब दिन टोपी दिवस मनाउन थालिएको संस्थाका संस्थापक अध्यक्ष रामजी बलामीले बताए ।

विगत वर्ष जस्तै यस वर्ष पनि दिवसका अवसरमा प्रभातफेरिजस्ता कार्यक्रम गरि नेपाली टोपी दिवस मनाइने संस्थाले जनाएको छ । साथै सो दिन नेपाली पहिचान झल्किने पहिरन लगाएर कार्यक्रममा सहभागी हुन पनि सबै नागरिक, बुद्धिजिबी, लेखक, पत्रकार लगायतमा संस्थाले अनुरोध पनि गरेको छ ।

Ads

सम्बन्धित पोष्टहरू