Ads

‘राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्ति’ : बाबुराम भट्टराई


धुलिखेल । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक समृद्धिमार्फत उन्नतीको शिखरमा पुगेका देशहरू राजनीतिक क्रान्ति सम्पन्न गरेर मात्रै आर्थिक क्रान्तितर्फ अघि बढेको बताएका छन् । काठमाडौँ विश्वविद्यालयले शुक्रबार आयोजना गरेकाे अन्तर्क्रियामा डा भट्टराईले नेपालमा राजनीतिक क्रान्ति सही दिशामा अघि बढ्न नसकेकाले आर्थिक विकासका मुद्दा ओझेलमा परेको बताए । नयाँ पुस्ताका युवाले सामाजिक सञ्जालमा राजनीतिककर्मी र पार्टीका नेतालाई गाली गर्नेभन्दा पनि सिर्जनशीलतामा लाग्नुपर्ने बताए ।

नेपालको विकास नहुनुमा राजनीतिक र लोकतान्त्रिक व्यवस्था स्थिरता नहुनु मुख्य दोष भएको उल्लेख गर्दै डा भट्टराईले राजनीतिक क्रान्ति गरेर अहिलेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थासम्म आइपुग्दा गर्व गर्नुपर्ने बताए । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा सबैभन्दा ठूलो उद्योग शिक्षा क्षेत्र भएको बताउँदै प्रगतिका लागि शैक्षिक प्रतिष्ठानहरू स्थापना हुनुपर्ने बताए । विश्वविद्यालयहरूले आफ्नो गुणस्तरलाई स्तरोन्नती गर्न आवश्यक रहेको बताउँदै उनले क्रियाशिल भएर बजार विस्तार गर्न विश्वविद्यालयहरूलाई सुझाव दिए ।

नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष सुरकृष्ण वैद्यले नीतिगत समस्याकै कारण आर्थिक क्रान्तितर्फ देश अघि बढ्न नसकेको टिप्पणी गरे । उनले औद्योगिक क्रान्तिबिना आर्थिक क्रान्ति नहुने भएकाले औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्ने र उद्योगीहरूको मनोबल विस्तार  गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।

काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले काठमाडौं विश्वविद्यालयमा हुने पढाइको विषयमा प्रचार गर्न सिङ्गो टिम लागिरहेको जानकारी दिए । उनले विद्यार्थी भर्नाका लागि दबाब आउने तर जनशक्ति चाहियो भनेर कहिल्यै कसैले नसोध्ने प्रवृत्ति बलल्नुपर्नेमा जोड दिए । काठमाडौँ विश्वविद्यालयका रजिष्ट्रार अच्युत वाग्लेले एकेडेमिय इन्डष्ट्रिको रुपमा विश्व विद्यालयभित्र मात्रै नभएर राजनीतिक दलका घोषणापत्रमा पनि लेखिनुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू