इलाम । इलाममा रोगका कारण अदुवा उत्पादनमा ह्रास आएको छ । सुरुआतमा अदुवाको गानो कुहिने र पछि बोट मर्न थालेपछि यहाँका अदुवा उत्पादन गर्ने किसान मारमा परेका छन् । रोगले अदुवाका बोट मर्न थालेपछि जिल्लाका अधिकांश किसानले अदुवा खेती गर्न छोडेका छन् ।
अदुवा इलामवासीको जीविकोपार्जनको गतिलो माध्यम हो । तर रोगका कारण किसानले अदुवा खेती गर्न छोड्दै गएका माइजोगमाई गाउँपालिका–३ का किसान मिलन खड्काले बताए । “इलामका किसानको आम्दानीको स्रोत अदुवा हो, यसबाट हुने आम्दानीले घर खर्च चलाउँदै आएका छौँ, तर पछिल्लो समय रोगका कारण समस्यामा छौँ”, उनले भने, “अधिकांश किसानको रोजीरोटी धरापमा परेको छ ।”
चार नगरपालिका र छ गाउँपालिका भएको इलामका प्रायःजसो सबै ठाउँमा अदुवा खेती गरिँदै आएको छ । रोगका कारण पछिल्लो समय यसप्रति किसानको आकर्षण घटेको छ । स्थानीय, प्रदेश र सङ्घीय सरकारले अदुवा किसानका समस्या पहिचान गरी समाधानको उपाय खोज्न आवश्यक छ । प्रोत्साहनस्वरुप आवश्यक अनुदान उपलब्ध गराउन पनि किसानले माग गरेका छन् । खाद्यान्न बाली मासेर अदुवा खेती गरेका किसान रोगले सखाप पारेपछि चिन्तित भएका छन् ।
इलाममा अदुवाको उत्पादन, उत्पादकत्व र क्षेत्रफल घटेको कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताए । गत वर्ष ५० हजार नौ सय ५५ मेट्रिक टन अदुवा उत्पादन भएको इलाममा यस वर्ष ५० हजार छ सय २० मेट्रिक टन मात्र उत्पादन भएको उनले जानकारी दिए। “उत्पादकत्व र रोपण क्षेत्रफल पनि घटेको छ”, प्रमुख बर्देवाले भने । किसानले गत वर्ष तीन हजार दुई सय २५ हेक्टर क्षेत्रफलमा अदुवा लगाएकामा यस वर्ष तीन हजार दुई सय दश हेक्टरमा मात्र खेती गरेका उनले बताए ।
प्रतिक्रिया दिनुहोस्