Ads

गणतन्त्रवादीहरू एक छौँ, फेरि राजतन्त्र फर्किने सम्भावना छैन : ओली


काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्नासाथ राजावादीहरूको टाउको दुख्ने गरेको बताएका छन् ।
उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने विषयमा गणतन्त्रवादीहरू एकताबद्ध रहेको बताएका छन् ।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले प्रज्ञा भवन कमलादीमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले राजावादीको टाउको दुख्छ भनेर आफूहरू छलफल र सहकार्य गर्न नछोड्ने बताए ।

‘अहिले एकथरी मान्छे छन्, राजतन्त्र आयो भने राष्ट्रियता बलियो हुन्छ भनेर कराउँछन् । तर यहाँ कुरा बुझ्न आवश्यक छ । के राजा हुँदा मात्रै देश बच्ने हो र ? जनताले हो कि राजाले हो देश बचाउने ?,’ अध्यक्ष ओलीले अघि भने, ‘यो तथ्यले पुष्टि गर्नुपर्‍यो। तथ्य यही हो कि देश बचाउने राजाले होइन, जनताले हो ।’

कहिलेकाहीँ आफूहरू (देउवा, दाहालसमेत) भेट हुँदा यिनीहरूले राजतन्त्र ल्याउन दिँदैनन् कि क्या हो भनेर विरोध हुने गरेको प्रसंग निकाल्दै अध्यक्ष ओलीले राजतन्त्र फर्किन नदिन आफूहरू सबै एक ठाउँमा रहेको बताए । ‘यो त निश्चित छ कि हामी राजतन्त्र फर्काउन दिदैनौँ, यो त खुलस्त कुरा हो, हामी भेट भए पनि, नभए पनि यो त प्रस्टै छ,’ ओलीले भने, ‘राजतन्त्र अब इतिहास हो, बितिसकेको कुरा हो । यसबारे छलफल गर्नुको कुनै औचित्य छैन ।’

उनले देशमा सुशासन, शान्ति, विकास र राष्ट्रियताको पक्षमा सबै दलहरूबीच मेलमिलाप हुनुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू