काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालका खेल अन्तर्राष्ट्रियकरण गर्नुपर्नेमा जोड दिएका छन् ।मदन भण्डारी स्पोर्टस् एकेडेमीको १५औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले नेपालका खेलाडीहरूले उत्कृष्ट क्षमता प्रदर्शन गर्ने क्रम बढेको बताए ।
उनले नेपालका खेलाडीमा अन्तर्राष्ट्रियस्तरको पदक हासिल गर्न सक्ने क्षमता भएको उल्लेख गर्दै खेलाडीलाई प्रोत्साहन राज्यले प्रदान गर्नुपर्ने बताए । कार्यक्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल क्षेत्रबाट देशको नाम चम्काउन खेलाडीको भूमिका महत्त्पूर्ण हुने बताए ।
एकेडेमीले खेलाडीहरू उत्पादन र क्षमता विस्तार गर्न ठूलो भूमिका खेलेको बताए । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले देशभरि नै एकेडेमीले विभिन्न खेल खेलाउने तयारी गरेको जानकारी दिए । एकेडेमी र खेल क्षेत्रको विकासमा योगदान पुर्याएका विभिन्न व्यक्तिलाई सम्मान गरिनुका साथै एकेडेमीले बनाएको वृत्तचित्र सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्