Ads

राज्यको पर्खाईमा भुकम्प पीडितहरु


काठमाडौं । यस बेला देशका अधिकांश भागमा चिसो बढेको छ । चिसोका कारण सर्वसाधारणको दैनिकीमा समेत असर परेको छ भने चिसोका कारण विभिन्न स्वास्थ्य समस्या पनि बढि रहेको छ । तर यस बेला जाजरकोट भुकम्पका पीडितहरुले भने राज्य विहिनताको महसुस गर्नु परेको छ ।
३ महिना अघिको भुकम्पमा परि घरवार बिहिन भएका भुकम्प पीडितहरु अहिले शितलहर र चिसोमा कष्टकर दैनिकी भोगि रहेका छन् । ४२ हजार भुकम्प पीडितहरु त्रिपाल भित्र ओत लागेर राज्यको पर्खाईमा रहेका छन् । हालसम्म चिसोकै कारण भूकम्पप्रभावित जिल्लाका ३४ जनाले ज्यान गुमाइसकेका छन् ।

गत असोजमा बझाङ र कात्तिकमा जाजरकोट केन्द्र भएर गएको भूकम्पबाट ५ जिल्लाका झन्डै ६८ हजार परिवार प्रभावित भएका थिए। ति मध्ये अझै ४२ हजारले अस्थायी आवास पाएका छैनन् भने २५ हजारभन्दा बढीले पहिलो किस्ता बापतको रकम पाउन सकेका छैनन् ।

असोज दोस्रो साता बझाङमा गएको भूकम्पबाट साढे ४ हजार घर भत्किए । तर, भूकम्प गएको ३ महिना बितिसक्दा पनि उनीहरूको अस्थायी आवास बनेको छैन, दिनचर्या त्रिपालमुनि नै बितिरहेको छ । त्यहाँ ४ हजार ५ सय ७३ लाभग्राही कायम भएकोमा १ सय २४ जनासँग मात्र सम्झौता भएको छ । अस्थायी आवास त जम्मा १५ वटा बनेका छन् ।

बझाङ र जाजरकोट भूकम्पबाट पाँच जिल्लामा ६७ हजार ७ सय ८० नागरिक प्रभावित बने । प्रभावित क्षेत्रमा अस्थायी आवास निर्माण गर्न दुइ किस्तामा गरी ५० हजार दिने निर्णय सरकारले गरेकामा हालसम्म ४२ हजारले मात्रै पहिलो किस्ताको रकम पाएका छन् भने १५ हजार मात्र अस्थायी आवास बनेका छन् ।

रुकुम पश्चिममा २३ हजार ६ सय ८ लाभग्राही कायम भए तर १९ हजार ७ सय १७ ले मात्र पहिलो किस्ता पाएका छन् । त्यहाँ ७ हजार १ सय १७ अस्थायी आवास निर्माण भइसकेका छन् भने ९ हजार ६ सय ६४ निर्माणको प्रक्रियामा छन् ।

बझाङजस्तै, बाजुरा र सल्यानमा पनि अस्थायी आवास निर्माण निकै सुस्त देखिएको छ । सल्यानमा १ हजार ७ सय ३० प्रभावितमध्ये ५ सय ८० जनासँग मात्र लाभग्राही सम्झौता भएको छ भने ७१ वटामात्र अस्थायी आवास बनेका छन् ।

बाजुरामा पनि २ हजार ७ सय २९ प्रभावितमध्ये अहिलेसम्म १ जनाले पनि अस्थायी आवास बनाउन पाएका छैनन् । जबकि त्यहाँ स्थानीय तहबाट लाभग्राहीको खातामा ७१ लाख ५० हजार रुपैयाँ निकासा भइसकेको विपद् व्यवस्थापन प्राधिकरणको तथ्यांक छ ।

 

Ads

सम्बन्धित पोष्टहरू