काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा सिट बाँडफाटबारे सत्ता गठबन्धनले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग पनि छलफल गर्ने भएको छ।
आज बिहन प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेताहरुको बैठक बसेको थियो।
बैठकले आज दिउँसो तीन बजे कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपासँग संयसक्त छलफल गर्ने र लगत्तै साँझ पाँच बजे एमालेसँग छलफल गर्ने निर्णय गरेको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
अहिले रिक्त हुने लागेको पार्टीगत सिट संख्यालाई यथावत् राख्दै एमालेका ९ सिटमा भागबन्डा गर्ने लगभग सहमति गठबन्धनमा भइसकेको छ।
यद्यपि कसले कति सिट पाउने भन्नेबारे टुंगो लागेको छैन। १९ मध्ये नेपाली कांग्रेसलाई ९, माओवादीलाई ६, नेकपा एसलाई ३ र जसपालाई एक सिट दिने प्रारम्भिक प्रस्ताव आएको बताइएको छ। यद्यपि, अरू साना दलहरुले पनि एक-एक सिट पाउनुपर्ने अडान राखिरहेका छन्।
साना दलहरुले पनि भाग खोजेपछि गठबन्धनमा सकस पर्न थालेको छ। सत्ता गठबन्धन मिलेरै निर्वाचनमा गए एमालेलाई चुनाव जित्न कठिन देखिन्छ।
यही बीचमा प्रचण्ड–देउवाबिच बढ्न थालेको दरारले पनि माओवादी र कांग्रेस एमालेलाई आफ्नो पक्षमा पार्न खोजे सहज हुने मनस्थितिमा छन्। प्रधानमन्त्री प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा एमालेलाई शून्यमा जान दिनुभन्दा हालको गठबन्धनमै समेटेर जाने गरी गृहकार्य सुरु गरेको बताइएको छ।
संक्रमणकालीन न्यायको विषय टुंग्याउनका लागि सहज होस् भनेर पनि एमालेलाई राष्ट्रियसभामा भाग दिने रणनीति प्रचण्डको छ। यद्यपि, एमाले भने गम्भीर मानव अधिकार उल्लंघनका घटनाहरुलाई समेत आममाफी दिने बुँदामा मान्न नसकिने बताउँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्