काठमाडौं । फाइनलमा कोसी प्रदेशलाई ११ रनले हराउँदै सशस्त्र प्रहरी बलको एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा एपीएफले प्रस्तुत गरेको ११५ रनको लक्ष्य पछ्याउने क्रममा कोसीले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १०३ रनमात्र बनाउन सक्यो ।
कोसीकी ओपनर तथा कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि टिमको हार टार्न सकिनन् । उनले ५८ बलमा सात चौका र एक छक्का प्रहार गरिन् । काजल श्रेष्ठले २२ रन थप्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफकी सीता रानामगर र करुणा भण्डारीले समान एक विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको एपीएफले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११४ रनको योगफल खडा गरेको थियो । एपीएफकी इन्दु वर्माले ५३ रन बनाएकी थिइन् । उनले ४७ बलमा ६ चौका र एक छक्का प्रहार गरिन् । ओपनर ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
एपीएफविरुद्ध कोसीकी अप्सरी बेगमले ह्याट्रिक लिएकी थिइन् । चार ओभर बलिङ गरेकी अप्सरीले २१ रन खर्चिदै तीन विकेट लिएकी हुन् । अप्सरीले १९.१ ओभरमा इन्दु बर्मालाई, १९.२ ओभरमा नेरी थापालाई र १९.३ ओभरमा सोनु खड्कालाई आउट गरिन् ।
यसबाहेक, अलिसा खाडियाले दुई विकेट लिँदा कप्तान रुविना क्षेत्री र निशा साहले समान एक विकेट लिए ।
एपीएफले पाँचौँ पटक प्रतियोगिताको उपाधि जितेको थियो । एपीएफले यसअघि सन् २०१७, २०१८, २०१९ र २०२२ मा प्रतियोगिताको उपाधि जितेको थियो
प्रतिक्रिया दिनुहोस्