काठमाडौँ, नेपालका लागि बहुप्रतिक्षित बनेको भारतमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता आज हुँदैछ । यसका लागि भारतीय विदेशमन्त्री एस जयशंकर आउँदैछन् ।
उनी बिहीबार बिहान काठमाडौँ उत्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र भारतका विदेशमन्त्रीको नेतृत्वमा दुई देशका उच्चस्तरीय प्रतिनिधिमण्डलसहित संयुक्त आयोगको बैठक आयोजना हु्ँदै छ । नेपाल भ्रमणको अवसरमा भारतका विदेशमन्त्री जयशङ्करले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने छन् ।
सवै भन्दा महत्वका साथ विद्युत व्यापार सम्झौतालाई हेरिएको छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यहि क्रममा नेपालले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन परियोजनामा सम्झौता हुने छ ।
जयशंकरले परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग पनि छुट्टै द्विपक्षीय भेटवार्ता गर्दै दुई देशको परराष्ट्र सम्बन्ध र सरकारको धारणा आदानप्रदानबारे छलफल गर्ने छन् भने संयुक्त आयोगको बैठकमा गरिने कार्यसूचीबारे आफ्ना धारणा आदानप्रदान गर्ने छन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विविध आयामका साथै विकास साझेदारीको समीक्षा गरिने छ । प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार रूपक सापकोटाका अनुसार यो बैठकमा दुई देशबिच विद्युत् व्यापार दुईदेशीय तथा बङ्गलादेशसँग हुने समझदारीका लागि त्रिदेशीय समझदारीमा महत्त्वपूर्ण सहमति हुने छ ।
प्रतिक्रिया दिनुहोस्