Ads

आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटे थारु महिला


भरतपुर । पछिल्लो पुस्ताले परम्परागत हस्तकला सीपतर्फ खासै चासो दिएको पाइँदैन । ती पुस्ताले शिक्षा र प्राविधिकतर्फ बढी चासो दिन थालेपछि परम्परागत हस्तकला, सीप हराउँदै गएको पाइन्छ । तर कला–संस्कृतिको धनी थारु समुदायका महिला चितवनको सौराहमा आफ्नो परम्परागत हस्तकला सामग्री बनाउन जुटेका छन् ।

चितवनको रत्ननगर नगरपालिका–१० भानु चोककी जानकी चौधरी ढकियालगायत थारु समुदायले प्रयोग गर्ने परम्परागत सामग्री बनाउने तालिम लिन पाउँदा उत्साहित छन् । उनले २२ दिनदेखि यस्ता सामग्री बनाउन सिकिरहेका छन् । उनीजस्तै ३० थारु महिला अहिले सौराहामा परम्परागत हस्तकला सीप सिक्न कस्सिएर लागेका छन् । थारु आयोगको आर्थिक सहयोगमा परिदृश्य नेपालको आयोजना र थारु कल्याणकारिणी सभा चितवनको समन्वयमा थारु महिलाका लागि तालिम दिइएको हो ।

जानकीले छोटो अवधिमा नै हस्तकला सीपमार्फत आकर्षक सामग्री बनाउन जानिसक्नुभएको छ । उनले पूजा दानी, फ्रुट बास्केट, पेन होल्डर, किस्ती, गमला र ज्वेलरी बक्स बनाउन सिकेका छैनन् । “पहिला केही पनि थाहा थिएन”, उनले भने, “तालिमपछि थाहा भयो मैले पनि यति राम्रो सामग्री बनाउन सक्ने रहेछु ।” उनले परम्परागत सामग्रीको माग बढ्दै गएकाले आफूहरु तालिम लिन आएको बताए । उनले फुर्सदिलो समयको सदुपयोग र आयआर्जन पनि हुने भएका कारण निकै मेहनतका साथ तालिममा सामग्री बनाउन सिकेको बताए । “परम्परागत ढकियालाई समयको मागअनुसार परिवर्तन गरेर बनाउन सक्छौँ, उनले भने, “हामीले बनाएको सामान बिक्रीका लागि बजारमा पनि लैजान थालिएको छ ।” उनले यस्ता सामग्री बनाउन मेहनत धेरै हुने भए पनि बजारमा माग राम्रो भएकाले बिक्रीको चिन्ता नरहेको बताए ।

प्रशिक्षक मुना चौधरी महिलालाई हस्तकला सीप सिकाउन पाउँदा खुसी लागेको भन्दै २२ दिनमा एक जनाले चार पाँचवटा सामग्रीको राम्रोसँग फिनिसिङ गरिसकेको बताए । तालिममा पूजा सामग्री राख्ने, घरको तरकारी र खानेकुरा राख्ने र फूल सजाउन प्रयोग हुने सामग्री बनाउन सिकाएको उनले बताए । “यहाँ हामीले उत्पादन गरेको सामग्री यहीँ सौराहामा बिक्री हुन्छ”, उनले भने, “देश विदेशबाट आएका पर्यटकले लैजाने गरेका छन् ।” यी सामग्री निर्माणका लागि बरुवा, काँस, रङ, छिदना, इन्चिटेपलगायतका सामान चाहिने उनले बताए । “तालिमपश्चात् दिदीबहिनीले व्यावसायिक रुपमा काम गर्न सक्नुहुन्छ”, उनले भने, “सबैले निकै रुचिका साथ तालिममा नियमित सहभागिता जनाएका छन् ।” तालिममा सहभागीलाई बिहान १० बजेदेखि ४ बजेसम्म हस्तकला सीप सिकाइएको छ ।

अर्का प्रशिक्षक श्री चौधरी थोरै लगानीमा फुर्सदको समयमा काम गरेर आयआर्जन गर्न सकिने भएकाले परम्परागत हस्तकला सामग्री निर्माणमा महिलाको आकर्षण बढेको बताए । “पहिलो हाम्रो पुर्खाले ढकिया मात्र बुन्ने गथ्र्य”, उनले भने, “अहिले अन्य सामग्री पनि उत्पादन गर्न थालेपछि देश विदेशमा बिक्री हुने गरेको छ ।” थारु समुदायमा विवाह, मान्छे मर्दा र अन्य कर्ममा ढकियाको प्रयोग गरिन्छ । ढकिया थारु समुदायको पहिचान भएको भन्दै उनले पछिल्लो समय अन्य समुदायका मानिसले पनि यी सामग्री मन पराएर किन्ने गरेको उनले बताए ।

तालिमका चितवनको रत्ननगर र खैरहनी नगरपालिकाका ३० जना थारु महिलाको सहभागिता रहेको छ । गत मङ्सिर २६ गतेदेखि सुरु भएको तालिम यही पुस २७ गते सकिने छ । थारु समुदायमा घरायसी प्रायोजनका लागि प्रयोग गरिने परम्परागत सीप आधुनिकताका नाममा हराएको भन्दै नयाँपुस्तालाई सिकाउन तालिमको आयोजना गरिएको थारु कल्याणकारिणी सभा चितवनका सचिव सन्तकुमार चौधरीले बताए । थारु कला, परम्परा र संस्कृति जोगाइराख्न यस्तो तालिमको निरन्तरता आवश्यक रहेको उनले बताए । उनले हस्तकला सामग्री पर्यटक र सोखिन मान्छेले किन्ने भएका कारण सीप र आयआर्जनसँग जोडेर महिलालाई यस्ता सीप सिकाउन अग्रसर गराउनुपर्ने उनले बताए । चौधरीले तामिममा सिकेको सीपलाई व्यवहारमा उतार्दै व्यावसायिक बन्न सहभागीलाई सुझाव दिए ।

Ads

सम्बन्धित पोष्टहरू