झापा\ झापाको कमल गाउँपालिकाले पालिका भित्रका सामुदायिक बिद्यालयमा अध्ययनरत बालबालिकाहरुको नृत्य कला प्रतिभा बिकास गराउने उद्धेश्यले घुम्ती नृत्य प्रशिक्षण सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाले नृत्य प्रशिक्षणमा दक्ष प्रशिक्षकको बन्दोबस्ती गरेर आलोपालो सबै बिद्यालयमा रहेका बालबालिकाहरुको इच्छा अनुसार नृत्य कला सम्बन्धि प्रतिभा बिकास गर्ने योजना ल्याएको हो । पालिकाले चालू आर्थिक बर्षको बार्षिक योजना तथा कार्यक्रममानै यो योजनालाई समावेश गरेका कारण सोको कार्यान्वयनका लागि नृत्य प्रशिक्षक नियुक्ती गर्ने प्रकृया अघि बढाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमार शाक्यका अनुसार पालिकाले तालिका बनाएर नृत्य प्रशिक्षकलाई आलोपालो सबै बिद्यालयमा सो कामका लागि खटाउनेछ । पुष २६ गते सम्म गाउँपालिकाद्धारा तोकिएका मापदण्ड पुरा गरेका नृत्य प्रशिक्षकबाट सोका लागि निवेदन माग गरिएको छ । गाउँपालिका अध्यक्ष हुकुमसिंह अध्यक्ष राई भन्छन–सामुदायिक बिद्यालयमा बिद्यार्थीको आकर्षणका लागि केवल पाठ्यपुस्तक मात्रै काफी हुन सक्दैन । अहिलेका बालबालिका पढाईसँगै मनोरञ्जनमा पनि रुची राख्छन । उनीहरुको रुची अनुसारको वातावरण बिद्यालयमा बनाउँदै लगिने प्रयास गर्न खोजेका हौं ।
नृत्य कलाको माध्यमबाट संसारभर चिनाउन कलाकारहरुले योगदान गर्न सक्छन, त्यो प्रतिभाको बिकास गर्ने अवसर हामीले प्रदान गर्न सक्नुपर्छ भन्ने हाम्रो बुझाई हो – नृत्य प्रशिक्षकको व्यवस्था गर्ने स्थानीय सरकारको योजनाको उद्धेश्यबारेमा प्रष्टयाउँदै पालिका अध्यक्ष राईले भने ।
प्रतिक्रिया दिनुहोस्