Ads

टीआरसीमा साथ दिने सर्तमा एमालेलाई भाग दिने गठवन्धनको रणनीति


काठमाडौँ–प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुको संयुक्त बैठक आज फेरि बस्ने भएको छ । राष्ट्रिय सभा निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल शीर्ष नेताहरुको संयुक्त बैठक आज पनि बस्न लागेको हो ।

हिजोको छलफल टुंगोमा पुग्न नसकेपछि आज बिहान ९ बजे पुनः बैठक बस्न भएको छ । हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेताको संयुक्त बैठक बसेको थियो । एमालेको आग्रहमा हिजो सहमति नभएपछि आ–आफ्नो दलभित्र छलफल गरेर आज पुनः बैठक बस्ने सहमति भएको थियो । सोही सहमति अनुसार आज बिहान दलका शीर्ष नेताहरु पुनः बैठक बस्न लागेका हुन् ।

संङ्क्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक सहमतिमा पारित गर्ने प्रयास स्वरुप सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राष्ट्रियसभाको भागबण्डामा एमालेलाई पनि सामेल गराउने तयारी गरेका छन् ।

टीआरसी विधेयकमा एमालेले सहमति जनाए राष्ट्रियसभामा सहकार्य गर्न कांग्रेस र माओवादी तयार भएका हुन् । यस विषयमा केही दिनदेखि माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।

हिजो सत्ता गठबन्धनको बैठकमा पनि यसबारे छलफल भएको छ भने सत्ता गठबन्धन दलहरुले एमालेसँग पनि छलफल गरेका छन् । तर एमालेलाई कति सिट दिने भन्नेबारे टुङ्गो लागेको छैन । यस्तै, राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएपछि सरकारलाई समर्थन गरेका अरु साना दल असन्तुष्ट देखिएका छन् ।

जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र जनमत पार्टीले राष्ट्रियसभा चुनावमा एमालेसँग सहकार्य गर्न नहुने अडान राख्दै आएका छन । यसबारे छलफल गर्न गठबन्धन दलको बैठक आज पनि बस्दैछ । आउँदो माघ ११ गते राष्ट्रियसभाको रिक्त २० वटा सिटमा चुनाव हुँदैछ ।

Ads

सम्बन्धित पोष्टहरू