काठमाडौं । नेकपा (एकिकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले भारतसँग भएको आश्चर्यजनक सम्झौता खारेज नगरिए आन्दोलन गर्ने चेतावनी दिएका छन् । नेपाल र भारतबीच भएको ‘उच्च प्रभावयुक्त सामुदायिक विकास आयोजना’का नाममा भएको सम्झौताले नेपालको सार्वभौसत्तामा धावा बोलेको आरोप नेता खनालले लगाएका हुन् ।
नेपालस्थित भारतीय राजदूतावासबाट २० करोडका योजनाहरू नेपालमा सोझै बाँड्न सकिनेगरी भएको सम्झौताप्रति उनको आपत्ति छ । सार्वभौम सत्ता सम्पन्न र स्वतन्त्र राष्ट्रका निम्ति यो लज्जाजनक र राष्ट्रिय हित विरोधी सम्झौता भएको उनले आरोप लगाएका छन् । एक विज्ञप्ति जारी गर्दै नेता खनालले नेपाल र नेपाली जनताको सार्वभौमिकता र सार्वभौम अधिकारमाथि नै खेलबाड भएको जनाएका छन् ।
खनालले भनेका छन् ‘गठबन्धन सरकारले गरेको सम्झौताले हामी सम्पूर्ण देशभक्त नेपालीलाई स्तब्ध, आश्चर्यचकित र क्रुद्ध बनाएको छ । विगत पञ्चायतकालदेखि नै हाम्रो गौरवमय मातृभूमिको स्वतन्त्रता र सार्वभौमसत्तालाई सीमित बनाउने षड्यन्त्रहरू हुँदै आएका थिए । प्रचण्ड प्रधानमन्त्री भएका बेलामा त्यस्ता कुरा सच्चाइने छन् भन्ने आश जनताले गरेका थिए । तर उहाँकै नेतृत्वको गठबन्धन सरकारले एउटा विदेशी राजदूतावासलाई सोझै २० करोडका योजनाहरू लागु गर्न दिने अकल्पनीय राष्ट्रियता विरोधी सम्झौता गर्न पुगेको छ ।’
प्रतिक्रिया दिनुहोस्