काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्धको सात वर्ष पुरानो अवहेलना मुद्दामा शुक्रबार निर्णय सुनाउने भएको छ।
गत असोज ७ गते सुनुवाइ सकेर गत मंसिर २० गते निर्णय सुनाउने मिति तोके पनि सुनाइएन।
निर्णय सुनाउनका लागि शुक्रबार पेशी तोकिएको निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले जानकारी दिए। न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले असाजे ७ गते सुनुवाइ सके पनि ‘पर्ख र हेर’को नीति लिँदै सुरुमा निर्णय सुनाउने मिति ७० दिन पछिका लागि तोकेका थिए। उक्त मितिमा पनि निर्णय नदिएपछि शुक्रबारका लागि पेशी तोकिएको हो।
अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता त्रिपाठीले २०७३ जेठमा दाहालविरुद्ध अवहेलना मुद्दा दिएका थिए।
त्यसबेला द्वन्द्वकालीन मुद्दामा माओवादी कार्यकर्ताहरु पक्राउ परेर नियमित अदालतले आदेश दिन थालेपछि दाहालले अदालतविरुद्ध आक्रामक अभिव्यक्ति दिएका थिए।
तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि दाहालले काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा अदालत शान्ति सम्झौता विपरीत जान लागेको आरोप लगाएका थिए।
प्रतिक्रिया दिनुहोस्