काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ।
न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिए।
अदालतविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले २०७३ जेठमा दाहालविरुद्ध अवहेलना मुद्दा दिएका थिए। त्यसबेला द्वन्द्वकालीन मुद्दामा माओवादी कार्यकर्ताहरु पक्राउ परेर नियमित अदालतले आदेश दिन थालेपछि दाहालले अदालतविरुद्ध आक्रामक अभिव्यक्ति दिएर विवादमा तानिएपछि त्रिपाठी अवहेलना मुद्दा लिएर सर्वोच्च पुगेका हुन्।
तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेल र छविलाल अधिकारीलाई पक्राउ गरेपछि दाहालले काठमाडौँमा आयोजित पार्टीको कार्यक्रममा अदालत शान्ति सम्झौता विपरीत जान लागेको आरोप लगाएका थिए।
दाहालले अदालतले शान्ति सम्झौताअनुसार सत्यनिरुपण तथा मेलमिलाप आयोगको दायरामा पर्ने मुद्दाहरु फैसला
गरेर शान्ति सम्झौता विरुद्ध भयानाक षड्यन्त्र गरेको, त्यस्ता आदेशलाई आफूहरुले स्वीकार नगर्ने, न्यायालयले परिवर्तनको प्रक्रियालाई आत्मसाथ गर्नुे जस्ता अभिव्यक्ति दिएर अदालतको अवहेलना गरेको त्रिपाठीको दाबी नपुग्ने निर्णय न्यायाधीश ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले गरेको हो।
दाहालले त्यसबेला अदालत विरुद्ध आक्रोश पोख्दै दिउसै रात पार्न खोजेको, शान्ति प्रक्रिया निष्कर्षमा र्पुयाउन नदिनका लागि अदालतलाई सक्रिय बनाउने कार्य गरिएको, माओवादीबिरुद्ध अदालतलाइ तयार पारिएको जस्ता अभिव्यक्ति दिएका थिए।
गत असोज ७ गते सुनुवाइ सकेर गत मंसिर २० गते निर्णय सुनाउने मिति तोके पनि सुनाइएन। उक्त मितिमा पनि निर्णय नदिएपछि शुक्रबार निर्णय सुनाएको हो।
प्रतिक्रिया दिनुहोस्