Ads

माैसम : आगामी केही दिन काठमाडौंसहित देशभरिको तापक्रम घट्ने


काठमाडाैं । काठमाडौं उपत्यकामा शुक्रबार यो वर्षकै सबैभन्दा कम तापक्रम मापन गरियाे । शुक्रबार उपत्यकाको तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको थियाे । आगामी केही दिन काठमाडौंसहित देशभरिको तापक्रम घट्ने मौसमविद्ले जनाएका छन् । आगामी दुई साता देशभरिको न्यूनतम तापक्रम घट्ने जनाइएको छ । न्यूनतम तापक्रम घटेसँगै जाडो बढ्नेछ । तराईका क्षेत्रहरुमा बिहान बाक्लो कुहिरो लाग्न थालिसकेको छ । आगामी केही दिनसम्म बिहान हुस्सु लागेर दिउँसो हट्ने सम्भावना छ । अघिल्लो वर्षभन्दा यसपालि जनवरी महिनाको औसत न्यूनतम तापक्रम २.४ डिग्री रहने जनाइएको छ ।

आगामी तीन दिन पहाडी भूभागमा आंशिक बदलीको अवस्था हुने सम्भावना छ भने तराईका भूभागहरुमा बिहान हुस्सु लाग्ने र दिउँसो मौसम सफा रहने छ । विशेषगरि कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । समग्रमा देशव्यापीरुपमै ठूलो मौसमी प्रणाली आउने अथवा धेरै वर्षा, हिमपात हुने सम्भावना भने छैन तर तापक्रम भने घट्ने क्रममा छ ।

आगामी दिनमा चिसो अझै बढ्दै जाने भएकाले यसबाट बच्नका लागि न्यानो भएर बस्ने र स्वास्थ्यको ख्याल गर्न विज्ञहरुले सुझाव दिएका छन् । हुस्सुका कारण तराई क्षेत्रमा पारदर्शिता एकदमै कम हुने जसले गर्दा यातायातका साधन चलाउँदा, बाटोमा हिँड्दा सावधानी अपनाउनु पर्ने जनाइएको छ । मौसम विज्ञान विभागले काठमाडौंमा मौसम मापन केन्द्र राखेदेखि अहिलेसम्मको इतिहास हेर्दा काठमाडौंमा सबैभन्दा न्यूनतम तापक्रम माइनस ३.५ डिग्री सेल्सियस मापन भएको छ । यो तापक्रम १९७८ जनवरी ११ मा मापन गरिएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू