Ads

कार्यान्वयन हुने योजना मात्रै पञ्चवर्षीय योजनामा समेट्छौँ : मुख्यमन्त्री पाण्डे


तनहुँ । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै पञ्चवर्षीय योजनामा समेटिने बताएका छन् । गण्डकी प्रदेश नीति तथा योजना आयोगले आज तनहुँको बन्दीपुर गाउँपालिका–५ मा आयोजना गरेको दोस्रो पञ्चवर्षीय योजनासम्बन्धी अन्तक्र्रियामा मुख्यमन्त्री पाण्डेले कार्यान्वयन गर्न सकिने योजनालाई मात्रै समेट्न सके त्यो प्रभावकारी हुने उल्लेख गरे ।

मुख्यमन्त्री पाण्डेले गाउँबाट सहरतर्फ बसाइँसराइको क्रम बढेकाले गाउँबाट हुने जनशक्ति पलायन रोक्ने नीति पहिलो प्राथमिकतामा रहने बताए । उनले शिक्षा, स्वास्थ्य, रोजगारीलाई पनि प्राथमिकताका साथ पञ्चवर्षीय योजनामा समेट्ने उल्लेख गरे । सो अवसरमा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जितप्रकाश आलेले समग्र गण्डकी प्रदेशको हित हुनेगरी योजना बनाइने दाबी गरे ।

त्यस अवसरमा तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा स्वर्णिम वाग्ले, निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा शङ्कर भण्डारी, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, सुरेश आलेमगर, तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९१० का सदस्य अशोककुमार श्रेष्ठ, तनहुँ क्षेत्र नं १ प्रदेशसभा ९२० का सदस्य हरिबहादुर चुमान, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले पञ्चवर्षीय योजनामा समेट्नुपर्ने विविध विषयमा सुझाव दिएका थिए ।

आत्मनिर्भर र समुन्नत प्रदेश सम्मानित प्रदेशवासी भन्ने सोच र उत्पादकत्व वृद्धि, सामाजिक न्याय र समुन्नति हासिल गर्ने लक्ष्यका साथ दोस्रो पञ्चवर्षीय योजना बनाउन लागिएको र त्यसमा सुझाव लिन अन्तक्र्रिया गरिएको आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले बताए । पञ्चवर्षीय योजनाको अवधारणापत्र तयार भएको र त्यसमा प्रदेशको अर्थतन्त्रको सुदृढीकरण, वित्तीय स्रोत पहिचान र व्यवस्थापन, सामाजिक सुरक्षा, समावेशीकरण, श्रम रोजगारी, उत्पादन तथा गरिबी न्यूनीकरणलगायत क्षेत्र समेटिएको उनले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू