काठमाडौ\ नेपाली कांग्रेस भित्रको लाईन संघर्ष र असन्तुष्टि राष्ट्रिय सभा सदस्यका लागि उम्मेद्वार चयन गर्दा छताछुल्ल भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो पक्षका बढि उम्मेद्वार समेटे पछि असन्तुष्ट पक्षको आक्रोश सार्वजनिक भएको छ ।
कांग्रेसले राष्ट्रिय सभा निर्वाचनका लागि १० उम्मेदवार टुंगो लगाउँदा संस्थापन पक्षका ७ र संस्थापन इतर पक्षका ३ जना परे पछि महामन्त्री गगन थापाको समुहको असन्तुष्टि सार्वजनिक भएको छ ।
राति अबेर सुरु भएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र सोमबार बिहानपखमात्र बसेको संसदीय बोर्डको बैठकले उम्मेदवार छनोट गरे पनि असन्तुष्टहरु थप असन्तुष्ट बनेका छन् ।
यि हुन् उम्मेद्वार ?
कांग्रेसको उम्मेद्वार सुचीमा कोशीमा पूर्वमहामन्त्री कृष्ण प्रसाद सिटौला परेका छन् भने मधेशमा आनन्द प्रसाद ढुंगानाले टिकट पाएका छन् । उनी केन्द्रीय सदस्य र पार्टीको अनुशासन समितिको संयोजक हुन् । वाग्मतीमा विष्णु देवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाए । विष्णु देवी महिला संघ काठमाडौंको पूर्व अध्यक्ष हुन् भने बस्नेत तरुण दलको पूर्व अध्यक्ष हुन् ।
गण्डकीमा किरण बाबु श्रेष्ठ र पदम बहादुर परियारले टिकट पाएका छन् । गोरखाका श्रेष्ठ प्रदेश महामन्त्री हुन् भने पदम बहादुर परियार तनहुँका हुन् । परियार अपाङ्ग पनि हुन्। उनीहरू दुवै जना संस्थापन इतर पक्षका हुन् । लुम्बिनीमा विष्णु देवी सापकोटाले टिकट पाएकी छन् । गुल्मीकी संस्थापन इतर नेता सापकोटाले महिला कोटाबाट टिकट पाएकी हुन् ।
कर्णालीमा प्रदेश महामन्त्री कृष्ण रोकायाले टिकट पाएका छन् । सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् । भट्ट कैलालीका पार्टी सभापति र अपाङ्ग हुन् भने बलदेव बोहरा कञ्चनपुरका पूर्व सभापति हुन् ।
के हो गगन थापाको असहमति ?
पार्टीको तर्फबाट राष्ट्रिय सभामा उम्मेद्वार हुँदै सांसद हुने पक्का पक्की जस्तै भए पछि कांग्रेसमा उम्मेद्वार चयन र भागवण्डा पेचिलो विषय बनेको थियो । सोहि क्रममा १० जना उम्मेद्वार मध्ये गण्डकीमा दुई जना र लुम्बिनीमा एक जना गरी तीन जना उम्मेदवार मात्रै शेखर कोइराला र गगन थापा पक्षले पाए पछि त्यो समुह असन्तुष्ट बनेको हो ।
४ जना दाबी गरेकामा तीन जना मात्रै पाएपछि महामन्त्री गगन थापाले लिखित असहमति जनाएका छन् । मधेशमा मधेशी मूलका व्यक्ति नभएको भन्दै नेता अर्जुन नरसिंह केसी र बल बहादुर केसीले पनि लिखित असहमति जनाएका छन् । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्