Ads

पाँच सय केजी खान अयोग्य माछा बरामद


दमक\दमक नगरपालिकाको बजार अनुमगन समितिले आइतबार एकैदिन बजारमा बिक्रीका लागि राखिएका खान अयोग्य पाँच सय केजी माछा जफत गरेको छ । नगर उपप्रमुख समेत रहेकी बजार अनुमगन समिति संयोजक रेगिना भट्टराई प्रसाइँ नेतृत्वको अनुगमन टोलीले दमकको नगरपालिका रोड, पुरानो सब्जी बजार आसपास बजार क्षेत्रमा विक्रीका लागि राखिएका त्यस्ता खान अयोग्य माछा जफत गरेर नष्ट गरेको उपप्रमुख भट्टराईको सचिवालयले जनाएको छ ।

दमकको बजार अनुगमन टोलीले गत कार्तिकमा पनि ठुलो परिमाणमा अखाद्य माछा बरामद गरि नष्ट गरेको थियो । उपभोक्ताहरुलाई खाद्य स्वच्छता सम्बन्धिको सार्वजनिक सूचना मार्फत सचेत गराएको बजार अनुगमन समितिले आकस्मिक रुपमा बजारमा छडके अनुगमन गर्दै थप क्रियाशीलता देखाएको हो ।

सर्वसाधारण नागरिकहरुले स्थानीय सरकारको अनुगमन समितिले आम उपभोक्ताको हितमा सरोकार राख्ने यस किसिमको बजार अनुगमनलाई नियमित गरेर दोषीहरुमाथी कानुनी कारवाही गर्दै थप क्रियाशीलता देखाउनुपर्ने सुझाव दिएका छन ।

आइतबार गरिएको बजार अनुगमनमा ईलाका प्रशासन कार्यालयका प्रतिनिधि सुरेन्द्रराज दाहाल, ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक सुदिप सिटौला, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई, नगरपालिकास्थित खाद्य तथा बजार अनुगमन शाखाकी खाद्य निरीक्षक लक्ष्मी न्यौपाने, नगर प्रहरी सहितको टोली सहभागी थियो ।

पटक –पटक सुचना गर्दा पनि प्रतिबन्धित र स्वास्थ्यका दृष्टिकोणबाट जोखिमयुक्त माछाको बिक्री वितरण नरोकिएकाले अब स्थानीय सरकार थप कडाइँका साथ उत्रिने अनुगमन संयोजक तथा उपप्रमुख भट्टराईले जानकारी दिइन ।

Ads

सम्बन्धित पोष्टहरू