Ads

उम्मेद्वारविरुद्ध आज दाबीविरोध, १९ का लागि ५२ मैदानमा


काठमाण्डौ – राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी हाल्न सकिनेछ । निर्वाचन आयोगका अनुसार सोमबार मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दाबीविरोध र उजुरीको कार्यतालिका रहेको छ ।

राष्ट्रिय सभा सदस्य चुनावका लागि ५२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । १९ सदस्यका लागि माघ ११ गते हुने चुनावमा सात वटै प्रदेशमा गरी ५२ जना उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका निर्वाचन आयोगले जनाएको छ ।

आयोगले सात वटै प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गराएको हो । उम्मेदवारी दर्ता गराउनेमा महिला समूहतर्फ १८ जना, दलित समूहतर्फ पाँच जना, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ जना र अन्य समूहतर्फ २१ जना छन् ।

निर्वाचन आयोगका अनुसार कोशी प्रदेशमा पाँच जना, मधेस प्रदेशमा पाँच जना, बाग्मती प्रदेशमा १५ जना र गण्डकी प्रदेशमा आठ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । यस्तै लुम्बिनी प्रदेशमा सात जना, कर्णाली प्रदेशमा छ जना र सुदूरपश्चिम प्रदेशमा छ जना उम्मेदवारको मनोनयनपत्र दर्ता भएको निर्वाचन आयोगले जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको विरोधमा उजुरी दिने, २५ र २६ गते मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा अन्तिम नामावली प्रकाशन गर्ने र पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिह्न वितरण हुनेछ ।

माघ ११ गते १९ सदस्यका लागि हुने चुनावमा सत्तारूढ गठबन्धनका दलहरूले सामूहिक उम्मेदवारी दिएका छन् भने नेकपा एमालेले एकल उम्मेदवारी दिएको छ । अहिलेकै अवस्थामा १९ वटै सिटमा गठबन्धनका उम्मेदवार निकै बलिया देखिएका छन् । तर गठबन्धनका मतदाताले नै पार्टी नभई व्यक्ति पनि हेर्ने भएकाले आफ्ना उम्मेदवारले जित्ने एमालेको दाबी छ ।

Ads

सम्बन्धित पोष्टहरू