Ads

गौशाला-२६ को तस्बिर सार्वजनिक गर्नेहरूलाई खोज्दै साइबर ब्युरो


काठमाडौं । क्रिकेटर सन्दिप लामिछानेबाट पीडित किशोरी ‘गौशाला २६’ को तस्वीर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नेविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोले छानबिन अघि बढाएको छ ।

ब्यूरोका एसपी पशुपति रायका अनुसार, यसबारे उजुरी समेत प्राप्त भएकाले त्यसरी तस्वीरहरु राख्नेकहरुको खोजी भइरहेको छ ।

बलात्कार कसुरमा काठमाडौँ जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय निर्धारण गरेसँगै पीडितको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ ।

कानुनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न मिल्दैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै तस्बिर र नाम ठेगाना सार्वजनिक गरेका हुन् । एसपी राय भन्छन्– ‘सार्वजनिक गर्ने व्यक्तिहरूको आइडेन्टिफाइ गर्दै छौं ।’

त्यसरी फोटो र नामथर सार्वजनिक गर्नेलाई गोपनियतासम्बन्धी कसुरमा पनि कारबाही हुने व्यवस्था छ । २०७५ भदौमा बन्द प्रशिक्षणमा रहेका बेला लामिछानेले पीडित किशोरीलाई भेटेका हुन् ।

नगरकोट घुमाएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै शम्भु मार्गमा सञ्चालित होटेलमा आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त गौशालाले मुद्दा दर्ता गर्दा पीडितको परिवर्तित नाम गौशाला–२६ उल्लेख गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू