काठमाडौ\ सिथिल अर्थतन्त्रको प्रभाव राजश्वमा पनि परेको छ । अर्थतन्त्र चलयमान हुन नसक्दा सरकारको राजश्व असुलीको लक्ष्य प्राप्ति चुनौतीपूर्ण देखिएको छ ।
चालु आर्थिक वर्षको ६ महिना बित्न लाग्दासम्म सरकारले एकतिहाइ पनि राजस्व उठाउन सकेको छैन । न्यून विकास खर्च र अर्थतन्त्र चलयमान हुन नसक्दा राजस्व उठ्न नसकेको हो । विकास खर्च गर्न नसक्दा बिनाब्याज र विदेशी दाताबाट प्राप्त हुने अनुदान पनि ५ प्रतिशतमै सीमित छ ।
सरकारले चालु आर्थिक वर्ष १४ खर्ब २२ अर्ब राजस्व उठाउने लक्ष्य राखेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार अहिलेसम्म चार खर्ब ४२ अर्ब अर्थात् ३१ प्रतिशत मात्रै उठाएको छ ।
जबकि अर्थ मन्त्रालयले ६ महिनामै ६ खर्ब ६८ अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा उठेको राजस्व दुई खर्ब २६ अर्ब कम हो । चार खर्ब कर र ४१ अर्ब गैरकर अर्थात् सेवा शुल्कहरु प्राप्त गरेको सरकारले दुई अर्ब ७५ करोड मात्रै अनुदान प्राप्त गरेको छ । विकास निर्माणका काम अघि बढाउन नसकेकाले अनुदान प्राप्त हुन नसकेको हो । अहिलेसम्म विकास खर्च १५ प्रतिशत मात्र छ ।
सरकारले हालसम्म ४ खर्ब ६४ अर्ब रकम प्राप्त गरेकामा खर्च भने ८९ अर्ब बढी अर्थात् ५ खर्ब ५३ अर्ब गरेको छ । राजस्व तथा अन्य आम्दानीबाट नपुग्दा सरकारले ऋण लिएर खर्चको पूर्ति गरेको छ । यो बीचमा सरकारले एक खर्ब २८ अर्ब आन्तरिक तथा ३७ अर्ब बाहृय ऋण प्राप्त गरेको छ । तर, यसरी प्राप्त भएको रकम पनि खर्च नगरी ढुकुटीमा थुपारिएको छ । अहिले सरकारको ढुकुटीमा एक खर्ब ८७ अर्ब रहेको राष्ट्र बैंकको तथ्यांक छ ।
प्रतिक्रिया दिनुहोस्