Ads

उधारोमा दुध बेचेका किसान : ऋणको भार, पलायनको अवस्था


चितवन\ व्यवसायीक दुग्ध उत्पादनमा लागेका चितवनका किसान पलायन हुने अवस्थामा पुगेका छन् । बैकबाट ऋण लिएर व्यवसायीक रुपमा पशुपालन गरि दुध उत्पादन गर्दै आएका किसानले दुध बेचेको पैसा समेत नपाउँदा ऋणको भारले थिचिनु परेको छ भने व्यवसायमा गरेको करोडौ लगानी पनि संकटमा पर्ने अवस्था आएको छ ।

दुध उत्पादन गर्ने चितवनका ४० हजारभन्दा बढी किसानले करिब २२ करोड भुक्तानी अझै पाएका छैनन । दुग्ध उद्योगहरूलाई उधारोमा दुध बेच्न बाध्य भएका किसानले भदौदेखिको भुक्तानी नपाएका हुन् । किसानले दुग्ध सहकारीमा दुध बेच्ने गरेका छन् । किसानबाट सङ्कलित दुध सहकारीहरूले उद्योगलाई विक्रि गर्दै आएका छन् । उद्योगबाट भुक्तानी आए किसानले दुधको पैसा पाउँछन्, नत्र पाउँदैनन् । अहिले पाँच महिनादेखिको किसानको दुधको भुक्तानी उद्योगले सहकारीमा पठाएका छैनन् ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेका अनुसार चितवनका एक सयभन्दा बढी दुग्ध सहकारीले दुधको भुक्तानी पाएका छैनन्, सहकारीमा दुधको भुक्तानी नआउँदा किसान मारमा परेका छन् ।

सङ्घका अध्यक्ष बगाले किसानको समस्या सुन्ने सरकार नभएकाले समस्या भएको जनाए। बाँकी पैसा नभएपछि सम्बन्धित निकायसमक्ष विभिन्न पाँचबुँदे मागसमेत राखेको उनको भनाई छ । ती मागमा सहुलियत ऋण सुलभ तरिकाले प्रदान गर्नुपर्ने, बिमामा देखिएको समस्यामा तत्काल सम्बोधन हुनुपर्ने, बागमती प्रदेश सरकारद्वारा दिँदै आएको दुध उत्पादनमा आधारित अनुदान रकम सबै दुग्ध किसानले सहज तरिकाले प्राप्त गर्नुपर्नेलगायतका छन् ।

चितवनमा १५५ वटा दुग्ध सहकारी जिल्ला प्रशासन कार्यालयमा दर्ता छन् । जिल्ला दुग्ध सहकारी सङ्घमा ११२ वटा सहकारी आबद्ध छन् । दुग्ध व्यावसायिक फर्महरू चितवनमा एक सय वटा छन् । चितवनमा हिउँदमा दैनिक तीन लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ ।

चितवनबाट डिडिसीलगायत ३१ वटा उद्योगमा एक लाख ५१ हजार लिटर दुध जान्छ । चितवनबाट डिडिसीमा मात्र ३५ हजार लिटर दुध जान्छ । किसानले दुधको चार फ्याट र आठ एसएनएफ आए प्रतिलिटर ६५ रुपियाँ पाउँछन् ।

Ads

सम्बन्धित पोष्टहरू