Ads

संघीय संसद् अन्तर्गत आज तीन वटा समितिका बैठक बस्दै


काठमाडौँ । संघीय संसद् अन्तर्गत आज तीन वटा समितिका बैठक बस्दैछन् । जसमा प्रतिनिधिसभाका दुई र राष्ट्रियसभाको एक समिति रहेका छन् ।  प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । आज बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने बैठकमा विभिन्न विद्यार्थी संघ/संगठनहरुसँग विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि आजै बस्दैछ । सिंहदरबारमा बस्ने बैठकमा गुठी पीडित मोही किसानको समस्या तथा गुठीसम्बन्धी कानून लगायतका विषयमा छलफल हुने बताइएकाे छ । बैठकमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री र सचिव तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई पनि आमन्त्रण गरिएको छ ।

यसैगरी, राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक पनि आजै बस्दैछ । बिहान ११ बजे सिंहदरबारमा बस्ने बैठकमा राष्ट्रिय सम्पदा अन्तर्गत राष्ट्रिय निकुञ्ज, आरक्षण र संरक्षित क्षेत्रको विद्यमान अवस्था र यसको संरक्षण सम्वर्द्धनमा सामुदायिक वन उपभोक्ता महासङ्घको भूमिका लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू