Ads

सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढ्याे: महासचिव पाेखरेल


काठमाडाैँ । नेकपा एमालेका महासचिव शंकर पाेखरेल राज्य र सरकार कमजोर हुँदा बाह्य चलखेल र हस्तक्षेप बढेकाे बताएका छन्।

दाङकाे तुलसीपुरमा प्रेस चाैतारी, दाङले आयाेजना गरेकाे पत्रकार भेटघाट कार्यक्रमलाई सम्बाेधन गर्दै युद्धस्थलका रूपमा नेपाल प्रयोग हुने खतरा बढेकाे टिप्पणी गरे।

‘एसियाभित्र द्वन्द्व सिर्जना गर्ने र दुई ठूला राज्य लडाउने भूमि नेपाल बन्ने खतरा छ’, उनले भने, ‘नेपालमा बलियो राष्ट्रिय शक्ति बन्न नदिने। यसको गोटी वर्तमान सरकार बन्यो।’

वर्तमान सरकार विकास र समृद्धिका दृष्टिले इतिहासकै असफल सरकारकाे रूपमा परिणाम भएको दावी गरे।

‘राज्यको गलत नीतिले मुलुक असफल बन्दै छ। तस्करी बढ्यो। मौद्रिक तरलता उत्पन्न छ। व्यवसाय धरापमा छन्। लगानीको वातावरण छैन’, उनले भने, ‘याे सरकारको गलत नीतिको प्रभाव हाे। प्रधानमन्त्रीका विदेश भ्रमणको उपलब्धी शून्य छ। नेपालका हीतविपरीतका कार्य भए। मुलुकका ठूला सम्भावना बोकेका जलविद्युत आयोजना भारतलाई जिम्मा लगाउने काम भयो।’

नेपालले निर्माण गर्न सक्ने कम लगानीका आयोजना भारतलाई हस्तान्तरण गरेर देशकाे हितविपरीत काम भएको दावी महासचिव पाेखरेलकाे छ।

‘भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहँदाका भएका सहमति मुलुकको हीतविपरीत छन्। भारतीय राजदूतावासले २० करोडसम्मको बजेट आफैं खर्च गर्न पाउने भन्ने सहमति हीत विपरीत हाे। यसो हुँदा स्थानीय तह दूतावासप्रति उदार बन्छ, जो मुलुकको हीतको पक्षमा हुँदैन’, उनले भने, ‘विदेशी सहायता मुलुकका लागि आवश्यक छ तर, नेपालको बजेटको सिष्टमबाट सहायता भित्रिनुपर्छ।’

Ads

सम्बन्धित पोष्टहरू