काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम)को १९औँ शिखर सम्मेलनमा सहभागी हुन आउँदो माघ ४ गते युगान्डा जाने भएका छन् । परराष्ट्र मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको युगान्डा भ्रमणबारे औपचारिक जानकारी गराएको हो ।
शिखर सम्मेलनमा असंलग्न आन्दोलनका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा जान लागेको परराष्ट्रले जनाएको छ ।
असंलग्न आन्दोलनको शिखर सम्मेलन माघ ५ र ६ गते युगान्डामा हुँदै छ । शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्रीको साथमा उनकी छोरी गंगा दाहाल पनि जाने परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्रीको नेतृत्वमा युगान्डा जाने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारी समेत रहनेछन् ।
असंलग्न आन्दोलनको शिखर सम्मेलनको थिम ‘साझा विश्वव्यापी समृद्धिका लागि सहयोगलाई प्रगाढ बनाउने’ छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते शिखर सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ ।
माघ ५ गते नै प्रधानमन्त्री प्रचण्ड युगान्डाका राष्ट्रपति योवेरी कागुटा मुसेभेनीले शिखर सम्मेलनमा सहभागी हुन आउने राष्ट्र तथा सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने रात्रिभोजमा सहभागी हुनेछन् ।
शिखर सम्मेलनको ‘साइडलाइन’मा प्रधानमन्त्रीले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुख र उच्चपदस्थ व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको पराष्ट्रले जनाएको छ ।
शिखर सम्मेलनअघि माघ ३ र ४ गते मन्त्रिस्तरीय बैठक बस्नेछ । शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री साउदले गर्नेछन् । परराष्ट्रमन्त्री साउद माघ २ गते युगान्डा प्रस्थान गर्ने कार्यक्रम छ ।
शिखर सम्मेलनले मन्त्रिस्तरीय बैठकको प्रतिवेदनमाथि विचार गर्नेछ । सम्मेलनमा सन् २०१९ मा सम्पन्न १८औँ शिखर सम्मेलनको निर्णय कार्यान्वयनमा हासिल भएको प्रगतिको समीक्षा र कम्पाला घोषणापत्र जारी गरिनेछ ।
“नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय रूपमा सहभागी हुँदै आएको छ । संलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तहरूमध्ये एक हो,” परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री प्रचण्ड माघ ७ गते स्वदेश फर्कने कार्यक्रम छ ।
१९औँ असंलग्न आन्दोलनको शिखर सम्मेलनपछि तेस्रो ‘साउथ समिट’ माघ ७ र ८ गते युगान्डाकै राजधानी कम्पालामा हुँदै छ । साउथ समिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रसचिव सेवा लम्सालले गर्नेछिन् ।
प्रतिक्रिया दिनुहोस्