Ads

प्रधानमन्त्रीद्वारा पुनर्वितरणको शुभारम्भ,२४ सै घण्टा उपलव्ध गराउन निर्देशन


काठमाडौँ, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मेलम्ची खानेपानीको पथान्तरण पुनर्वितरणको शुभारम्भ गरेका छन् । त्यस क्रममा उनले काठमाडौँ उपत्यकाको बढ्दो जनसङ्ख्यालाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउन नेपाल सरकार प्रयासरत रहेको बताए ।

सोमबार बिहान सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खानेपानीको दिगो व्यवस्थाका लागि दोस्रो चरणको याङग्री तथा लार्के नदी डाइभर्सनको कार्यसमेत निश्चित कार्य योजना बनाई अगाडि बढाइने बताए । कार्यक्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाको जनसङ्ख्याको चापलाई मध्यनजर गरी खानेपानीको बढ्दो माग र आपूर्तिको सीमितताको विरोधाभास समाधान गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रधानमन्त्रीले ‘आयोजनाको दीर्घकालीन समस्या समाधानका लागि विस्तृत अध्ययन तथा ठोस कार्य योजना बनाई आयोजनाको पुनर्निर्माणको कार्य कार्यान्वयन गरिने र हाल प्रयोग हुँदै आएको वैकल्पिक प्रणालीलाई पनि बाह्रै महिना सञ्चालन गर्ने गरी व्यवस्था मिलाउन सम्बन्धित पदाधिकारीलाई मैले निर्देशन दिएको’ जानकारी दिए ।

त्यस क्रममा प्रधानमन्त्रीले काठमाडौँ उपत्यकाभित्र खानेपानी वितरणको कार्य नयाँ वितरण सञ्जालमार्फत समानुपातिक, सुरक्षित तथा तोकिएको परिमाणको खानेपानी सेवा २४ सै घण्टा उपभोक्ता सदस्यहरूको धारामा वितरण गर्ने व्यवस्था मिलाउन निर्देशन दिए ।

प्रधानमन्त्रीले सिएमसी कम्पनीले बिचमै काम छोडेर जाँदा बाँकी रहेको दायित्व कसरी भुक्तानी गर्ने भन्ने विषयमा डा. दिल बहादुर गुरुङको संयोजकत्वमा गठित समितिको प्रतिवेदनका आधारमा उचित निर्णय लिइने समेत बताए ।

Ads

सम्बन्धित पोष्टहरू