Ads

जनता पछाडि फर्किनेवाला छैनन्, संविधान कार्यान्वयन गरौं: राष्ट्रपति पौडेल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान कार्यान्वयन गरेर नेपाली जनताको अधिकार कार्यान्वयन गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरेका छन् ।

माघी पर्वको अवसरमा उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता, संघीय समितिका सभापतिसहितलाई राष्ट्रपति कार्यालयमा बोलाइ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालको संविधान उत्कृष्ट भएर पनि नेपाली जनताले यसको लाभ उठाउन नपाउदा केही निराशा देखिएको बताए ।

‘संविधानले परिकल्पना गरेका विषयलाई कार्यान्वयनमा ल्याउनुपर्ने आवश्यकता छ,’उनले भने,’त्यसैले संविधान कार्यान्वयन गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्छ। एकजुट होऔं।’

राष्ट्रपति पौडेलले संविधानले सबै जनतालाई दिएको अधिकार सार्थक हुनुपर्नेमा जोड दिए। उनले संविधानप्रति जनताको आशालाई निराशामा परिणत गर्न नहुने बताए।

राष्ट्रपतिले भने,’ त्यो कानुन निर्माण छिटोभन्दा छिटो गर्नुपर्छ। संविधान कार्यान्वयनमा जाऔं। जनताको निराशामा आशामा परिणत गरौं। यो संविधानलाई कार्यान्वयन नगरेर अहिले निराशा बढेको छ। जनताले पछाडि फर्किन चाहेका छैनन् भन्ने मैले बुझेको छु। जनताले अगाडि बढ्न चाहिराखेका छन्।’

राष्ट्रपति पौडेलले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी लोकतन्त्र साकार पार्नुपर्नेमा जोड दिए।

Ads

सम्बन्धित पोष्टहरू