काठमाडौ\ विभिन्न नाकाहरुबाट भित्रिनेहरुमा पुनः कोरोना संक्रमण देखा पर्ने क्रम बढेको छ । पछिल्लो पटक कोरोनाका नयाँ सङ्क्रमित भेटिएपछि भारतसँग सीमा जोडिएको पर्साको वीरगञ्जस्थित नाकामा स्वास्थ्य सतर्कता बढाइएको छ। भारतको विभिन्न स्थानमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै जानुका साथै केही दिनअघि वीरगञ्जस्थित सीमानाकामा नयाँ सङ्क्रमित भेटिएपछि स्वास्थ्य सतर्कता बढाइएको हो।
सीमानाकामा स्वास्थ्य सहायताकक्ष स्थापना गरी भारतबाट आउनेहरुको निरीक्षण र निगरानी गन थालिएको छ। भारतबाट रेल, बस र निजी सवारी साधनमा आउने यात्रुलाई स्वास्थ्य सहायताकक्षमा एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी भित्रिन दिने गरिएको वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा संयोजक अनिल यादवले जानकारी दिए।
उनका अनुसार महानगरले सञ्चालन गरेको हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीले भारतबाट यात्रा गरेर आउनेलाई सुरुमा स्क्रिनिङ गरी ज्वरो वा खोकीको लक्षण देखिएकाको एन्टिजेन परीक्षण गर्ने गरेका छन्।
संयोजक यादवले गत पुस १ गतेदेखि सञ्चालित उक्त हेल्थ डेस्कमा हालसम्म पाँच हजार दुई सय पाँचजनाको स्क्रिनिङ गरिएको जानकारी दिए। जसमध्ये दुई सयमा एन्टिजेन परीक्षण गर्दा गत बुधबार दुई भारतीय र एकजना नेपालीमा कोरोना पोजेटिभ देखिएको उनले बताए।
यस अघि सुदुरपश्चिम नाकामा पनि कोरोना देखिएको थियो । भारतबाट नेपाल भित्रिनेहरुको एन्टिजेन परीक्षण गर्दा उनीहरुमा कोरोना सङ्क्रमण पुष्टि भएको हो। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार नाकाबाट भित्रिने व्यक्तिहरुको एन्टिजेन परीक्षण गर्दा कोरोना देखिएको हो । प्रदेशका सीमानाका गौरीफन्टा, गड्डाचौकी, जुलाघाट र पुलघाट नाकाबाट भित्रिनेहरुको नमूना संकलन गरिएको थियो ।
उच्च जोखिम कायमै
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का एक वरिष्ठ विज्ञले कोभिड–१९ को सङ्क्रमण विश्वभर फैलिँदै गएकाले जनस्वास्थ्य जोखिम विश्वव्यापी रूपमा उच्च रहेको बताएका छन्।
अध्ययनका अनुसार कोभिड–१९ को पुष्टि गरिएका घटनाहरू सार्वजनिक भएभन्दा दुईदेखि १९ गुणा बढी भएको महामारी तथा सङ्क्रमण रोकथामका लागि जिम्मेवार विश्व स्वास्थ्य सङ्गठनका अन्तरिम निर्देशक मारिया भान केरखोभले विशेष विश्लेषणमा बताएका छन्।
कोभिड–सम्बन्धित मृत्युमा ठूलो कमी आएको भएता पनि ५० देशबाट अझै पनि प्रतिमहिना करिब दश हजारको मृत्यु हुने गरेको रिपोर्ट गरिएको छ।
प्रतिक्रिया दिनुहोस्