काठमाडौँ । उद्योग विभागको महानिर्देशकमा यज्ञ राज कोइराला नियुक्त भएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विभागका महानिर्देशक बाबुराम गौतमलाई मन्त्रालय तान्दै उनको ठाउँमा मन्त्रालयका सहसचिव कोइरालालाई पठाएको हो । उनले मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखा हेर्दै आएका थिए ।
गौतमले विभागलाई गति दिन नसकेपछि कोइरालालाई पठाइएको मन्त्रालय स्रोतले जनाएको छ । विभागलाई निकै महत्त्वपूर्ण मन्त्रालयका रूपमा लिइन्छ ।
औद्योगिक विकासका लागि स्वदेशी एवं विदेशी लगानी प्रवर्द्धन गर्नेदेखि विदेशी लगानी तथा प्रविधि हस्तान्तरण स्वीकृति प्रदान गर्दै विदेशी लगानीकर्ताहरूको प्रवेशाज्ञा सिफारिस गर्ने जिम्मेवारी विभागकै रहेको छ।
औद्योगिक एवं विदेशी लगानी कानुन र नीतिको तर्जुमा गर्न सघाउ पुर्याउँदै उद्योग दर्ता एवं अनुमति लिनु पर्ने उद्योगको अनुमति प्रदान गर्ने, औद्योगिक सुविधा तथा सहुलियत सिफारिस गर्ने, उद्योगहरूको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, आवश्यकताअनुसार उद्योगहरूको वातावरणीय पक्ष लगायतका विषयहरूको अनुगमनका साथै भारत निकासी हुने औद्योगिक वस्तुहरूको उत्पत्तिको प्रमाण पत्र जारी गर्न सहयोग गर्ने र औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्ड र एकल बिन्दु सेवा केन्द्रको सचिवालयको कार्यसमेत विभागले गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्