Ads

वरिष्ठ गायक वैद्यको निधन


काठमाडौँ — वरिष्ठ गायक तथा संगीतकार योगेश वैद्यको बिहीबार राति निधन भएको छ । पारिवारिक स्रोतका अनुसार बिहीबार राति साढे १२ बजे उनको निधन भएको थियो ।

दिउँसो स्वास्थ्यमा केही समस्या देखिएको र राति अझ चापेपछि अस्पताल लाने क्रममै उनको निधन भएको परिवारले जनाएको छ । उनलाई भ्याली अस्पताल लगिएको थियो ।

गायक वैद्य ७७ वर्षका थिए । भर्खरै मात्रै उनलाई गंकी बसुन्धरा प्रतिष्ठानबाट प्रतिष्ठित ‘धुंस्वां साय्मि सिरपाः’ प्रदान गरिएको थियो । उनी नेपाली र नेपाल भाषाका प्रतिष्ठित गायक र संगीतकार हुन् । नेपालीमा ‘सपना भुलाई सारा आँसु लिएर जाउ’, ‘मेरो आँसुमा नहाँसे’ र ‘नेपाल मेरो उपहार भो’ लोकप्रिय छन् । यस्तै नेपाल भाषामा ‘जय नमो सिरि बुद्ध भगवान’ र ‘जिमि यःम्ह थौ जिथाय् वइ’ लोकप्रिय रहेका छन् ।

वनस्पतिशास्त्रमा एमएस्सी गरेपछि लोकसेवा आयोग दिएर प्रथम भएका थिए योगेश । करिब ३३ वर्ष सरकारी जागिर खाएका योगेश ०६१ मा सहसचिव पदबाट अवकाश लिएका थिए । उनले बेल्जियमको गेन्टको स्टेट युनिभर्सिटीबाट पनि फुड एन्ड न्युट्रेसनमा स्नातकोत्तर गरेका थिए ।

शुक्रबार पशुपतिमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । उनका दुई छोरी र एक छोरा छन्

Ads

सम्बन्धित पोष्टहरू