काठमाडौ\ सरकारी निकायहरु विचको समन्वय अभावकै कारण राष्ट्रिय गौरवका लगायत अन्य विकासका आयोजनाहरुको निर्माण कार्य सुस्त हुने गरेको छ । बहुप्रतितिक्षित पुष्पमलाल राजमार्गको हालत पनि यस्तै भएको छ । राजमार्ग निर्माण क्षेत्रमा पर्ने रुख कटानको विषयको उल्झनकै कारण निर्माण कार्यनै रोकिएको छ ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाले बताए अनुसार रुख कटानको र भोगाधिकार सहमति प्राप्त हुन बाँकी भएर नुवाकोटको २० किमि खण्ड ठेक्का लागेर पनि कार्य प्रगति भएको छैन । १२ वटा सामुदायिक वन पर्ने क्षेत्रमा रुख गणना गर्न डिभिजन वन कार्यालयलाई परिचालनका लागि वन विभागमा पत्राचार गरिएको उनले बताए । तर, अहिलेसम्म त्यसको कारबाही अगाडि बढेको छैन ।
अछाम, डोटी र बैतडी खण्डको डीपीआर र वातावरणीय अध्ययन अझै भएको छैन । परामर्श सेवामा बजेट अपुग भएको मन्त्री ज्वालाले बताए । कास्कीको अर्मलाचौर, लमजुङ भोलैटार र सुन्दरबजार खण्डमा पंक्तिवद्धतामा विवाद हुँदा ठेक्का लाग्न सकेको छैन । उनका अनुसार काम समयमा नगरेका कारण तोडिएका ठेक्काहरु पुनः ठेक्का गर्ने प्रक्रियामा छ ।
यस्तै यस आयोजनामा निर्माण सामग्री अभाव तथा उत्खनन् विवाद देखिएको छ । ‘युटिलिटी रि–लोकेसन’ विवादसँगै मुआब्जा तथा क्षतिपूर्ति विवाद, सडक सीमा यकिन नहुनु, निर्माण व्यवयासीको ढिलासुस्ती, प्रतिकूल मौसम र बजेट अभावनै आयोजना कार्यान्वयनमा देखापरेका मुख्य समस्या रहेको जानकारी सचिव शर्माले दिए ।
जाजरकोटको मन्ताभिर आसपासमा कडा चट्टानसँगै जटिल भूगोलका कारण ट्रयाक अझै जोड्न नसकिएको उनले बताए । त्यस्तै हिले–बसन्तपुर, जयरामघाट–हलेसी लगायत खण्डमा सडक डबल लेन स्तरोन्नति हुन बाँकी छ । मन्त्री ज्वाला बजेट व्यवस्थापन भएमा अछाम, डोटी र बैतडी खण्ड स्तरोन्नति कार्यको लागि ठेक्का व्यवस्थापनको पूर्व तयारी काम सम्पन्न गर्ने भावी कार्ययोजना रहेको बताउँछन् ।
मध्य पहाडलाई समेट्ने गरि पूर्व पश्चिम सडक सञ्जाल निर्माणका लागि यस सडक निर्माण कार्यमा ६६ अर्ब २२ करोड खर्च भई सकेको छ ।सरकारले पुष्पलाल जमार्ग नामकरण गरी आर्थिक वर्ष २०६४÷०६५ बाट आयोजना कार्यान्वयन सुरु गरेको थियो ।
सरकारले २०६५ फागुन २६ मा मन्त्रिपरिषद्बाट निर्णय गरी यो राजमार्गको रेखाङ्कन स्वीकृत ग¥यो । मध्य पहाडका २६ जिल्लाका २१५ बस्ती जोड्दै निर्माण हुने यस सडकबाट मध्यपहाडमा बसोबास गर्ने करिब १ करोड सर्वसाधारण यस आयोजनाबाट प्रत्यक्ष लाभान्वित हुने दाबी गरिएको छ । आयोजनालाई आर्थिक वर्ष २०६७\०६८ देखि २ खण्डमा विभाजन गरी मध्यपहाडी पूर्व खण्ड (करिब ७२१ किमि) र मध्यपहाडी पश्चिम खण्ड (करिब १९५८ किमि) गरी २ वटा आयोजनाबाट निर्माण कार्य थालनी भएको हो ।
सरकारले २०७५÷०७६ देखि हालसम्म पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय र निर्देशनालय अन्तर्गत पाँच वटा योजना कार्यालयहरु (पाँचथर, काभ्रे, गोरखा, पर्वत, दैलेख) बाट निर्माण कार्य गरिरहेको छ । आर्थिक वर्ष २०६९÷०७० देखि यो आयोजनालाई सरकारले राष्ट्रिय गौरवको आयोजना घोषणा गरी प्राथमिकतामा राखेको थियो ।
प्रतिक्रिया दिनुहोस्