काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकप आजदेखि दक्षिण अफ्रिकामा सुरु हुँदैछ ।
भविष्यका स्टार जन्माउने यू–१९ विश्वकपको यो १५औं संस्करण हो । सन् १९८८ मा पहिलो पटक अष्ट्रेलियामा आयोजना भएको यू–१९ क्रिकेट विश्वकप यसपटक सुरुमा श्रीलंकामा हुने तय थियो । तर आईसीसीले श्रीलंका क्रिकेटलाई निलम्बन गरेपछि प्रतियोगिता दक्षिण अफ्रिकाले आयोजना गर्ने भएको हो । खेल नेपाली समय अनुसार दिउँसो १:४५ मा सुरु हुनेछ।
यो एकदिवसीय विश्वकप दक्षिण अफ्रिकाका विभिन्न ५ स्थानमा खेलाइने छ। फाइनल खेल ११ फेब्रुअरीमा विलोमुर पार्कमा हुनेछ। प्रतियोगितामा कुल ४१ खेल हुनेछन्। यो विश्वकपको १५ औं सिजन हो। सुरुमा प्रतियोगिता श्रीलंकामा हुने भनिए पनि आइसिसीले श्रीलंकन क्रिकेट बोर्डलाई नोभेम्बरमा प्रतिबन्ध लगाएका कारण श्रीलंकाबाट आयोजकको अधिकार खोसेर दक्षिण अफ्रिकालाई दिएको थियो।
१६ टोलीलाई ४ समूहमा विभाजन
यू-१९ विश्वकप यो संस्करणमा नयाँ ढाँचामा आयोजना हुँदैछ। १६ टोलीलाई ४-४ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने छ। प्रत्येक समूहबाट ३-३ टोली सुपर-१२ मा प्रवेश गर्नेछन्। यहाँबाट ६-६ टोलीलाई २ समूहमा विभाजन गरेर प्रतियोगिता खेलाइने छ। यी दुई समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ। सेमिफाइनल विजेता टोलीबिच फाइनल खेल आगामी ११ फेब्रुअरीमा हुनेछ।
नेपालको पहिलो खेल न्युजिल्यान्डसँग
प्रतियोगितामा नेपाली यू-१९ टोलीले भने आफ्नो पहिलो खेल आइतबार न्युजिल्यान्डसँग खेल्ने छ। प्रतियोगिता अघिको अभ्यासमा राम्रो लयमा देखिएको नेपालले टेस्ट टोलि विरुद्धको खेलसँगै आफ्नो अभियान सुरु गर्नेछ। नेपालको यो यू-१९ विश्वकपमा आठौं सहभागिता हो। यसअघि नेपालले २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ मा यू-१९ विश्वकप खेलेको थियो।
प्रतियोगिता कहाँ हेर्ने?
स्टार स्पोर्टसँग सन् २०२७ सम्मका सबै आइसिसी कार्यक्रमहरूको प्रसारण अधिकार छ। अन्य आईसीसी प्रतियोगिताहरू जस्तै, यू-१९ विश्वकप पनि स्टार स्पोर्ट्स टिभी र हटस्टार ओटीटीमा हेर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस्