पाल्पा\ पाल्पाको झुम्साखोलामा खानेपानी पाइपका लागि निर्माण गरेको फलामे पुल भाँचिदा दुई जना कामदार घाइते भएका छन् । शनिबार फलामबाट बनेको पुलको तल्लो भागमा राखेको टेका हटाउन नटबोल्ट खोल्दै गर्दा पुल भाँचिएको हो ।
पुल भाँचिएर घाइते हुनेमा तिनाउ गाउँपालिका ४, कोलडाँडाका ३९ वर्षीय रनबहादुर गाहा र रौतहटको चन्द्रनिगाहपुर बस्ने २२ वर्षको लक्षु माझी रहेको प्रहरीले जनाएको छ ।
गाहाको दुवै खुट्टा भाँचिएको र माझीको खुट्टामा चोट पटक लागेको हुँदा उपचारका लागि तत्काल लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देही पठाइएको दोभान प्रहरी चौकीका प्रमुख पृथ्वी काफ्लेले जानकारी दिए ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । तिनाउ गाउँपालिका वडा नं।३ र ४ को सीमानामा रहेको झुम्सा खोलामा झुम्सा खानेपानी आयोजनाले बुटवलमा पानी लैजान पाइप बिच्छाउने र अन्य स्ट्रक्चरको काम गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्