Ads

रासस ‘अवधी भाषा समाचार सेवा’ को नेपालगञ्जबाट शुभारम्भ गरिँदै


बाँके । राष्ट्रिय समाचार समिति (रासस)ले ‘अवधी भाषा समाचार सेवा’को नेपालगञ्जबाट सुरुआत गर्ने भएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयमा आज दिउँसो एक समारोहका बीच नगरप्रमुख प्रशान्त विष्ट र राससका कार्यकारी अध्यक्ष धमेन्द्र झाले संयुक्तरूपमा सेवा शुभारम्भ गर्नेछन् । राससका महाप्रबन्धक सिद्धराज राईका अनुसार राससले हप्तामा छ दिन दैनिकरूपमा कम्तीमा १० समाचार अवधी भाषामा अनुवाद गरी समाचार सेवा प्रदान गर्दै आएको छ । यसबाट अवधीभाषी सञ्चारमाध्यम लाभावन्वित भएका छन् ।

लुम्बिनी प्रदेशअन्तर्गतका परासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया जिल्लामा अवधीभाषी समुदायको बाहुल्य रहेको र उनीहरूको मातृभाषालाई संरक्षण र संवर्द्धन गर्न सो सेवा प्रभावकारी हुने राससका प्रशासन प्रमुख शीतलप्रसाद महतोले बताए । उनले देशभरका विभिन्न सञ्चारमाध्यमले ‘समाचार सामग्री’ पाउने विश्वास व्यक्त गरे ।

बाँके जिल्ला अवधीभाषीको बाहुल्य क्षेत्र भएको र यस उपमहानगरपालिकामा रहेका सञ्चारमाध्यममार्फत समुदायको सशक्तीकरण हुने नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख विष्टले बताए । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काले भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न यस सेवाबाट टेवा पुग्ने विश्वास व्यक्त गरे । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘राष्ट्रिय ९मातृभाषा० समाचार सेवा’ राससको केन्द्रीय कार्यालय काठमाडौँमा गत पुस २३ गते शुभारम्भ गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू