Ads

नगदेबालीका रुपमा दरिदै फलफूल खेती


पाँचथर\ पाँचथरको एकै वडाबाट यस वर्ष ७ करोड रुपैयाँ भन्दा बढिको सुन्तला उत्पादन भएको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्क अनुसार पाँचथरमा ९५९ हेक्टरमा सुन्तला खेती हुन्छ । जसको एक तिहाइभन्दा धेरै हिस्सा फाल्गुनन्द गाउँपालिकाले लिएको छ । फाल्गुनन्दको वडा नम्बर ७ बाट मात्रै यो वर्ष साढे सात करोड रुपियाँको सुन्तला खरिद गरेको व्यवसायी निर्मल अधिकारीले बताए ।

सुन्तला पाकेर यतिबेला बगान पहेँलपुर छन् । यहाँको एउटै वडामा दुई सयभन्दा धेरै किसानले फलाएका सुन्तला झापाको बिर्तामोड, सुनसरीको इटहरी हुँदै काठमाडौँसम्मका व्यापारीले बगैँचा नै कबुलेर खरिद गर्ने भएकाले बजारको समस्या नरहेको किसानको भनाई छ ।

अनुकूल वातावरण र हावापानी रहेका कारण गाउँपालिकाले वडा नम्बर ७ लाई सुन्तला पकेट क्षेत्र घोषणा गर्दै किसानलक्षित अभियान सुरु गरेपछि ऊर्जा थपिएको किसान बताउँछन् ।

सुन्तला पकेट क्षेत्र घोषणा गरेको गाउँपालिकाले यहाँका सबै वडामा माटो र पानी सुहाउँदो अन्न र तरकारी बाली प्रवर्धनको नीति ल्याएको छ । जसमा किसानलाई बिउ पुँजी र प्राविधिक ज्ञान हस्तान्तरणसँगै उत्पादन भण्डारण गर्ने सुविधा उपलब्ध गराउनेसम्मका कार्यक्रम समेटिएको गाउँपालिकाका अध्यक्ष बृजहाङ आङ्देम्बेले बताए ।

पर्वतमा उत्पादन घट्यो

सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतमा भने यस वर्ष उत्पादन घटेको छ । यहाँको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । गत वर्ष सुन्तला उत्पादनबाट रु पाँच करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै रु दुई करोडमा चित्त बुझाउन बाध्य भएका छन् । गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनासो गरेका छन् ।

सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औँसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिएका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू