काठमाडौं । भारतको अयोध्यामा निर्मित राम मन्दिरको आज उद्घाटन गरिदैछ । भारतीय समय अनुसार सोमबार १२ बजेर २० मिनेटमा शुरु हुने प्राण प्रतिष्ठा कार्यक्रम १ बजे समापन हुनेछ ।
प्राण प्रतिष्ठाका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही दिनदेखि ब्रत र निष्ठामा रहेका छन् । उनले नरिवल पानी मात्रै पिएर भुइँमा कम्बल ओछ्याएर सुत्दै भारतीय सञ्चार माध्यमले जनाएका छन्। प्राण प्रतिष्ठाका लागि देश विदेशका सयौं सन्त महन्थ लगायत भारतका उच्च पदस्थ व्यक्तित्वहरु, कलाकारहरु, उद्योगपति तथा व्यापारीलगायत हजारौ पाहुनाहरु अयोध्या पुगका छन् । यस समारोहका लागि झन्डै पाँच सय वर्षपछि दुलहीझैं सिंगारिएको रामनगरी अयोध्या मात्र नभइ भारत भर घरघरमा दिपोत्सव गरिने छ ।
नेपालमा पनि उत्साह
भारतको मन्दिरमा प्राण प्रतिष्ठा र उद्घाटन समारोह भई रहँदा नेपालमा पनि उत्तिकै उत्साह छ । काठमाडौंसहित नेपालका विभिन्न शहरमा सनातन् धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गर्दैछन् । सीताको जन्मभूमि जनकपुरबाट सजाइएका गाडीहरू अयोध्या पुग्नुका साथै नेपालबाट शिला, जल र विभिन्न उपहार पठाइएको छ । सीताको जन्मभुमि जनकपुरधामबाट ५ बस, ४ ट्रक र २० भन्दा बढी साना गाडीहरूमा उपहारहरू पठाइएको छ ।
किन भयो खास ?
विभिन्न मन्दिरहरुको निर्माण, प्राण प्रतिष्ठा र उद्घाटन भए पनि यसलाई भारत सरकारले खास रुपमा लिएको छ । भारतको अयोध्याको रामकोटमा सन् १५२८ मा मुगल सम्राट् बाबरले बाबरी मस्जिद बनाउनु अघि रहेको रामन्दिरकै जगमा अहिले मन्दिर बनाइएको हो । त्यसैको आज उद्घाटन गर्न लागिएको हो ।
भारतको सर्वोच्च अदालतले रामजन्मभूमिमा राम मन्दिर निर्माणका लागि बाटो खोलिदिएपछि सन् २०२० देखि मन्दिर निर्माण कार्य शुरु गरिएको थियो । यस राम मन्दिरका लागि १ हजार ८ सय करोड भारतीय रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।
यस मन्दिरमा ४४ वटा द्वार र ३ सय ९२ पिलर रहेका छन् । तीन तलाको राममन्दिर पूर्वपश्चिम दिशामा ३ सय ८० फिट लम्बाइको र २ सय ३५ फिट चौडाइको रहेको छ । हरेक तला २० फिट उँचाइका छन् । जमिनबाट गर्भगृहको चुचुरोको उँचाइ १ सय ६१ फिटको छ । यस मन्दिर निर्माणमा फलामको प्रयोग नै गरिएको छैन भने मन्दिर ग्रेनाइट पत्थरबाट मात्रै बनाइएको छ ।
प्राचीन नागर शैलीमा बनाइएको मुख्य मन्दिर ५७ हजार ४ सय वर्गफिट क्षेत्रमा बनेको छ । पिलर र ढोकाहरूमा विभिन्न भगवानका मूर्तिहरू कोरिएका छन् । मन्दिरको गर्भगृहमा भगवान् रामको मूर्ति छ । भगवान रामको बालस्वरुप मूर्ति ५१ इञ्च अग्लो छ भने मूर्तिको दायाँ बायाँ र तल माथि सूर्य चन्द्रमादेखि विभिन्न देवगण तथा ऋषिहरुका आकृति पनि कुँदिएको छ । मन्दिरमा पाँचवटा मण्डप तयार पारिएको छ ।
प्रतिक्रिया दिनुहोस्