Ads

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु


काठमाडौं । रुसी सेनामा थप एक जना नेपालीको मृत्यु भएको छ ।

रुसी सेनामा भर्ती भएका रसुवा नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको रुस–युक्रेनको युद्धमा परी मृत्यु भएको हो ।

गाउँपालिका अध्यक्ष नुर्वु स्याङवो घलेले मोक्त्तानको मृत्यु भएको खबर परिवारलाई प्राप्त भएको जानकारी दिए ।

उनका अनुसार मोक्तान नेपाली सेनाको जागिर छाडेर रुस पुगेका थिए । रुसबाट मोक्तानको मृत्यु भएको खबर गत पुस १२ मै आए पनि तीन दिनअघि मात्र शवको तस्वीर परिवारलाई प्राप्त भएको छ । शवको तस्वीर प्राप्त भएपछि मोक्तानका परिवारले उनको मृत्यु भएको स्वीकार गरेका छन् । मोक्तानका श्रीमती, आमा एक छोरा र एक छोरी छन् ।

रुस र युक्रेनबीच युद्ध सुरु भएयता सयौँको संख्यामा नेपाली युवाहरू रुसी सेनामा अवैध तरिकाबाट भर्ना भएका छन् । यसरी रुसी सेनामा भर्ना भएका १५–१६ जना नेपालीको मृत्यु भइसकेको छ । केही घाइते भएका छन् भने केही युक्रेनकाे कब्जामा समेत परेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू