काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत अनुपस्थित भएपछि प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसदहरुले प्रश्न उठाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कार्यक्रम कार्यान्वयनको अर्ध वार्षिक प्रगति एवं पूँजीगत खर्चको सम्वन्धमा र मन्त्रालयसंग सम्बन्धित गुनासा र समाधानका लागि भएका प्रयासका विषयमा छलफल गर्न बोलाएको बैठकमा मन्त्री बस्नेत अनुपस्थित भएका थिए । उक्त बैठकमा मन्त्रालयका सचिवसहितका केही अधिकारी भने उपस्थित भएका थिए ।
मन्त्रीसँगै छलफल गर्न बोलाइएको बैठकमा उनकै अनुपस्थित रहेको भन्दै समिति सदस्यहरुले अनुपस्थितिलाई लिएर प्रश्न उठाएका हुन् । रास्वपाकी सांसद डा. तोसिमा कार्कीले मन्त्रालयको कामकारबाही र मन्त्रीको निर्णयहरुका सम्बन्धमा सार्वजनिक रुपमा समेत प्रश्न उठिरहेको अवस्थामा उनको अनुपस्थितिले संशय पैदा गरेको बताएकी थिइन् ।
मन्त्री स्तरीय निर्णयहरु अदालत पुगिरहेको र अदालतबाट उल्टिरहेको भन्दै उनले अनुपस्थितको कारण माग गर्नुपर्ने बताएकी छिन् । समिति सभापति भानुभक्त जोशीले आफूले माघ ५ गतेदेखि निरन्तर स्वास्थ्यमन्त्रीलाई फोन गरेको तर नउठाएको बताएका छन् । समितिका अरु सदस्यहरुले पनि स्वास्थ्यमन्त्रीको उपस्थितिमै छलफल आवश्यक रहेको बताएका छन् । मन्त्रीलाई समिति बैठकमा उपस्थित हुन आग्रह गर्दै पत्र काट्ने समितिले निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्