काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । साथै तराई–मधेश क्षेत्रका धेरै ठाउँमा हुस्सु तथा कुहिरो लागेको छ । मधेश प्रदेशका केही जिल्लामा शीतलहरसमेत चलेको छ ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको छ ।
यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात हुने महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको सम्भावना रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई सेवामा प्रभाव पर्न सक्ने जनाइएको छ ।
यस्तै, तापक्रम घट्दो क्रममा रहेकाले चिसो बढ्ने हुँदा यसबाट जोगिन आवश्यक उपाय अपनाउन महाशाखाले अनुरोध गरेको छ । आज सूर्योदय बिहान ६ बजेर ५४ मिनेट र सूर्यास्त साँझ ५ बजेर ३७ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्