काठमाडौं । काठमाडौं । न्यूरोड क्षेत्रका व्यवसायीहरू पार्किङ निषेधका विरोधमा उत्रिएका छन् ।
काठमाडौं महानगरले मंगलबार बिहानदेखि न्यूरोडको कालोपत्र सडकमा सवारी साधन पार्किङ निषेध गरेको हो ।
अहिले त्यहाँका व्यवसायीहरू सटर बन्द गरेर विरोधमा उत्रिएका हुन् उनीहरु आज सटर बन्द गरेर वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् । सवारी आवागमनलाई सहज बनाउन महानगरले विकल्प दिँदै पार्किङ रोके पनि व्यवसायीले विरोध गरेका हुन्।
पार्किङ्ग निषेध गरिएका स्थानहरुमा ‘नो पार्किङ्ग’ का संकेत चिह्न राखिएका छन्। यसैगरी नगर प्रहरी खटाएर पार्किङ्ग गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ्ग गर्न नपाइने जानकारी दिइरहेको छ। यस क्रममा आज बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ्ग गरिएका मोटरसाइकलहरु नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको छ।
नयाँ सडक जानुपर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङ्को सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए। यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ।
पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि विशेष सरसफाइ गरिएको थियो। महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो।
यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महाबौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो।
सडकमा पार्किङ्ग गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ्ग निषेध गरिसकिएको छ।

प्रतिक्रिया दिनुहोस्