ईटहरी\ कोशी प्रदेशको खेती योग्य जमितमा अम्लियपना उच्च रहेको पाईएको छ । किसानले बालीमा जथाभावी रासायनिक मल र विषादीको प्रयोग गर्दा माटोको उर्वराशक्तिमा ह्रास हुँदै जानुको साथै अम्लियपन बढ्दै गएको पाईएको हो । यस प्रदेशमा ८० प्रतिशत अम्लियपनयुक्त माटो रहेको कोशी प्रदेशस्थित माटो तथा मल परीक्षण प्रयोगशाला कार्यालय झुम्का सुनसरीले जनाएको छ ।
किसानले अव्यवस्थित रूपमा रासायनिक मलको प्रयोग गरेकाले माटोले उत्पादकत्व गुमाउँंदै गएको कार्यालयका प्रमुख विगम्बर यादवले जानकारी दिए । उनका अनुसार प्रदेशका विभिन्न ठाउँमा नमुना जाँच गरिएको धेरैजसो माटोमा ८० प्रतिशत अम्लियपन फेला परेको छ । दशवर्ष अघिभन्दा अहिले झण्डै २५ प्रतिशत हाराहारीमा अम्लियपन बढेको छ ।
माटो परीक्षण शिविरमा किसानद्वारा परीक्षणका लागि ल्याइएका माटोको अम्लिय, क्षारीय, नाईट्रोजन, फस्फोरस, पोटास, प्राङ्गारिक पदार्थ र माटोको भूवनोट जाँच गरिएको थियो ।अनुसार समग्र प्रदेशभरीको माटोमा प्राङ्गारिक मलको मात्रा निकै कम देखिएको छ । जसमा नाईट्रोजन ५६, फस्फोरस ६२ र पोटास ७४ प्रतिशतले कमी देखिएको छ ।
अम्लियपन माटोमा प्रत्येक वर्ष बढ्दै गएको छ । बर्सेनि रासायनिक मलको प्रयोग बढ्दै जानु र प्राङ्गारिक मलको प्रयोग घट्नु, बाली सघनता बढ्नु र बाली चक्र नअपनाउनाले माटोको उर्वरा शक्ति घट्दै गएको प्रमुख यादवको भनाइ छ ।
माटोमा रासायनिक मलको प्रयोग बढ्दो रहेको प्रति विज्ञहरुको चिन्ता छ । सन्तुलित रुपमा मलको प्रयोग गर्दै प्राङ्गारिक पदार्थ बढाउनुपर्ने कृषि विज्ञ राजेन्द्र उप्रेतीले बताए । माटोको उत्पादन बढाउन नियमित माटो परीक्षण गराउने, चुन र प्राङ्गारिक मलको प्रयोग बढाउनेलगायत काम गर्नुपर्ने कृषि प्राविधिकले सुझाव दिएका छन् ।
गाउँपालिकाको घुम्ति शिविर
झापाको कमल गाउँपालिकाले घुम्ति शिविर सञ्चालन गरि किसानको माटो परीक्षण गर्दै आएको छ । माटोको अवस्था पहिचान गरि किसानलाई सुधारका लागि सुझाव समेत दिने गरिएको कृषि प्राविधिक प्रेम पोखरेलले बताएका छन् । विभिन्न वडा तथा टोलमा माटो परीक्षणका शिविर सञ्चालन गर्दै आएको कृषि प्राविधिक रमा रेग्मीले जनाएकी छन् । यस गाउँपालिकाले माटो परीक्षण प्रयोगशाला समेत सञ्चालन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्