मनहरी । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशभित्रका अधुरा योजनालाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । बिहीबार प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयले आयोजना गरेको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले बहुवर्षीय प्रादेशिक अधुरा योजना तत्काल पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
“कतिपय योजना अलपत्र छन्, ती योजना पूरा गर्नूस्,” मुख्यमन्त्रीले जम्कट्टेलले भने । अधुरा योजना सम्पन्न पश्चात् नयाँ योजना बनाउन आग्रह गर्दै उनले अधुरा योजनाले गर्दा भुक्तानीमा समेत समस्या उत्पन्न हुँदै गएको बताए । उनले ग्रामीण क्षेत्रमा सडक विस्तारमा प्रदेश सरकार अग्रसर रहेको भन्दै परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए ।
“हिजोको जस्तो अवस्था छैन्, अहिले धेरै विकास हुँदै गएको छ”, मुख्यमन्त्री जम्कट्टेलले भने, “हामी आवश्यक नीति र योजना बनाउँछाैँ, कार्यान्वयन कर्मचारीले गर्ने भएकाले नीति र योजना अनुसार काम गरिदिनुहोला ।” उनले सम्पूर्ण काम कार्यसम्पादनको मूल्याङ्कन सरकारले गरिरहेको बताए । प्रदेशको ठूलो बजेट भौतिक मन्त्रालय मातहतका कार्यालयमा हुने भएकाले प्रदेश सरकारको परिणामुखी नतिजा पनि पूर्वाधार विकास कार्यालयबाट हुनुपर्नेमा मुख्यमन्त्री जम्कट्टेलले जोड दिए ।
प्रतिक्रिया दिनुहोस्