काठमाडौं । नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नं. १ स्थित साबिक ओखरपौवा गाविस वडा नं. ९ डाडाँगाउँमा काठमाडौं जिल्लाको बिजुली पुगेको छ । भूगोलको हिसाबले खोलापारी रहेको भूभाग काठमाडौं हो । ४० घरधुरीलाई नुवाकोटबाट थ्रीफेज लाइन पुराउन मुस्किल भइरहेको थियो । घरायसी प्रयोजनको लागि लाइन तानेर डाडाँगाउँ पुर्याए पनि लोडको लागि बत्ती नपुगेपछि डाँडागाउँले हरेक निर्वाचनमा यसलाई मुख्य विषय बनाउँदै आएको थियो ।
गएको निर्वाचनमा नेकपा एमालेको तर्फबाट नुवाकोट क्षेत्र नं. १ प्रदेश सभा २ बाट उम्मेदवार रहेका पूर्णलाल श्रेष्ठले आफ्नो पहलमा डाडाँगाउँमा काठमाडौंको बिजुली पुर्याएको हो । गाउँका केही व्यक्तिहरूसँग निरन्तर छलफल गरी नेता श्रेष्ठ आफै नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय कार्यालयमा उपस्थित भई निवेदन दिएपछि लगातारको ताकेतापछि डाडाँगाउँमा पोलको काम सुरु भएको थियो ।
विद्युत् प्राधिकरणले डाडाँगाउँको लागि छुट्टै ट्रान्सफरमर जडान गरेको छ । अहिले डाँडागाउँबासीको घर–घरमा काठमाडौंको बिजुली बल्न थालेको छ । गाउँका काठमाडौंको थ्रीफेज लाइन सहितको बिजुली आइपुगेपछि स्थानीयले नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य पूर्णलाल श्रेष्ठलाई गाउँमै बोलाएर धन्यवाद दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्