Ads

सरकारी सञ्चारमाध्यम जनउत्तरदायी हुनुपर्छ : मन्त्री शर्मा


काठमाडाैं । सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन् । सोमबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा भएको छलफलमा मन्त्री शर्माले सरकारी सञ्चारमाध्यम भजनमण्डली जस्तो नभएर स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी हुन् ।

जनताका अपेक्षा र सरकारको कामलाई सरकारी सञ्चारमाध्यमले जोड्न सक्नुपर्ने उनले बताएकी छिन् । उनले विधेयकलाई समयसापेक्ष बनाउन राष्ट्रियसभाको संशोधन र अहिले आउने संशाेधनलाई ध्यान दिइने जिकिर समेत गरेकी छिन् ।

मन्त्री शर्माले रेडियो नेपाल र नेपाल टेलिभिजनलाई एकठाँउमा मर्ज गरेर उन्नतस्तरको सञ्चारमाध्यम बनाउने गरि तयारी गरिएको बताएकी छिन् । उनले संसदको आगामी अधिवेशनमा विधेयकहरुलाई पेश गर्ने गरि पारित गर्नुपर्नेमा जोड दिएकी छिन् । बैठकमा समिति सदस्य महेश बर्तौलाले स्वतन्त्र प्रेसको आत्मा मर्ने गरि राखिएका प्रावधान हटाउनुपर्ने बताएका छन् ।

उनले राज्यका चारवटा सञ्चारमाध्यमलाई फरक फरक कानूनबाट हेर्ने कुरा उचित नरहेको जिकिर गरेका छन् । त्यस्तै समिति सदस्य माधव सापकोटाले प्रस्तुत विधेयक एकात्मक राज्य व्यवस्था अनुरुप देखिएको भन्दै संघीय स्वरुप अनुसारको बनाउनुपर्ने सुझाव दिएका छन् । अन्य समिति सदस्यहरुले पनि सरकारी सञ्चारमाध्यमहरुको नियन्त्रण सरकारबाहिर राख्नुपर्ने सुझाव दिएका थिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू