झापा \ अर्थतन्त्र सिथिल हुँदाको प्रभाव उद्योग क्षेत्रमा बढ्दै गएको छ । कारोवारमा आएको ह्रासका कारण अर्वौ रुपैयाँ लगानी भएका उद्योग बन्द हुने क्रम जारी छ । यसै क्रममा झापामा मात्र तीन ओटा ठुला सिमेन्ट उद्योग वन्द भएका छन् ।
झापामा रहेका आठवटा सिमेन्ट उद्योगको वार्षिक उत्पादन उत्पादन क्षमता एक करोड ५० लाख बोरा भए पनि अहिले यो खुम्चिएको छ । भएका उद्योगमा पनि उत्पादन ४० प्रतिशतबाट पनि ओरालो लागेको छ भने तीनवटा उद्योग बन्द भएका हुन् ।
झापा मेची नगरपालिकामा २०७४ सालमा स्थापना भएको सनराइज सिमेन्ट उद्योगको दैनिक उत्पादन २० हजार बोरा हो । गत जेठ महिनाबाट उद्योग बन्द छ । उत्पादनले खर्च धान्नै छोडपछि बन्द गर्नुको विकल्प नरहेको सञ्चालक उमेश डालमिया बताउँछन् ।
बिर्तामोड नगरपालिका २, चैतुवारीमा रहेको कञ्चनजंगा सिमेन्ट उद्योग रातको समयमा सञ्चालन हुन्छ । दिउँसोभन्दा राति बिजुली सस्तो हुने भएकाले राति उद्योग सञ्चालन गरिएको हो । राति उद्योग चल्दा सामान्यभन्दा दुईतिहाइ कम उत्पादन हुन्छ । झापाका सबै सिमेन्ट उद्योग घिटिघिटि गरेर सञ्चालनमा छन् । बैंकले घरजग्गामा कर्जा प्रवाह नगर्नु, निर्माण ठप्प हुनु, निर्माण व्यवसायीले सरकारबाट भुक्तानी रकम नपाउँदा आर्थिक प्रणालीनै बिग्रिएको कञ्चनजंघा सिमेन्ट उद्योगका अध्यक्ष मीनप्रकाश मैनाली बताउँछन् ।
वर्षौंदेखि ठेकेदार काम गर्नेहरु, अहिले मिस्त्री गर्दै छन् । यहाँ १० जना काम गर्नेमध्ये पहिले ठेकेदारमा काम गर्ने ६ जना छन् । पेट पाल्न र घरपरिवार चलाउन श्रमिकको रुपमा काम गर्न उनीहरु बाध्य छन् । सिमेन्ट उत्पादन ह्रासको असर राजस्व संकलनमा पनि परेको आन्तरिक राजस्व कार्यालय झापाका प्रमुख कृष्णचन्द्र काफ्लेको भनाइ छ । उनका अनुसार भ्याटबाहेक अन्तशुल्क रकम गत आर्थिक वर्षको पुस मसान्तमा ७५ प्रतिशत थियो भने यस वर्ष ४९ प्रतिशतमा झरेको छ ।
प्रतिक्रिया दिनुहोस्