Ads

बाँदर, बँदेलले दुःख दिएको भन्दै रुख कटान


तम्घास\ तम्घासमा बाँदर र बदेलले दुःख दिएको भन्दै स्थानीयहरुले रुख कटान गर्न सुरु गरेका छन् ।  जिल्लाको रेसुङ्गा नगरपालिका वडा नम्बर १ का स्थानीयहरुले निजी जग्गामा रहेका कुकाठ, बाँस, सल्ला, खरीलगायत झाडी फडानी गरेको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले तम्घासको उदिन ढुङ्गास्थित आर्दश बोडिङ स्कुलदेखि तिनधारा हुँदै वडा नम्बर २ को सिमानासम्मका रुखहरु काटेको हो ।

सुनसन बन्दै गएको गाउँबस्तीमा कुकाठ र झाँडीले ढाकेपछि किसानलाई बाली संरक्षण गर्न सकस भएका कारण रुख कटान गरेको स्थानीयहरुले जनाएका छन् । वडावासीहरुले लगाएको अन्नवाली जङ्गली जनावरले सखाप पारेर हैरान बनाएपछि कुकाठ र झाँडी फडानी गरेको वडा नम्बर १ का वडाअध्यक्ष रामप्रसाद पन्थीले जानकारी दिए ।

कुकाठ र झाडीका कारण खेतबारी तथा घर रहेको अन्नबाली खाने र प्रायः दुःख दिने गरेको गरेको कृषकको गुनासो छ । कुनै समय खेती गर्दै आएको जग्गा समेत बाँदरका कारण बाँझो राख्दै आएको स्थानीयको भनाई छ ।

गत वर्ष वडा कार्यालयले ४५ दिन बाँदर हेरालु राखेर ३० हजार भुक्तानी गरेको थियो । त्यसबाट प्रतिफल नआएपछि अहिले झाडी फडानी गर्नका लागि ७० हजार रुपियाँ व्यवस्था गरेको वडाअध्यक्ष पन्थीले जनाएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू