Ads

दरबार हत्याकाण्डबारे प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिप्रति नेपालको आपत्ति


काठमाडौं । राजदरबार हत्याकाण्डबारे प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो समय दिएको अभिव्यक्तिप्रति  एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आपत्ति जनाएका छन् । जनकपुरमा आज बिहीवार एक कार्यक्रममा उनले राजदरबार हत्याकाण्डबारे अनुसन्धान गर्ने कुरा प्रधानमन्त्रीले विचार नपुर्याई बोलेको बताएका छन् । यस्तो गम्भीर कुराहरुमा बोल्दा गठबन्धनमा सहभागी दलहरु र आफूलाई सोधेको भए उचित हुने थियो भन्दै नेपालले हत्याकाण्डका बारेमा आफूसँग गिरिजाप्रसाद कोइरालाले समेत सोध्ने गरेकोमा प्रधानमन्त्री दाहालले नसोधेको बताएका छन् ।

हत्याकाण्डका समयमा आफूलाई गिरिजाप्रसादले समेत के गर्ने ? भनेर सोध्ने गरेको स्मरण गर्दै उनले सरसल्लाह बिनै प्रधानमन्त्री दाहालले छानबिन गर्नेकुरा गरेको बताए । तत्कालिन समयमा छानविन आयोगमा पहिला आफूलाई पनि राख्नुपर्ने अडान लिएका माधव कुमार नेपालले आयोगमा राखेपछि नबस्ने भन्दै बाहिरिएका थिए । दरबार हत्याकाण्डको केही समयपछि एमालेका वर्तमान अध्यक्ष गृहमन्त्री बनेको र पछि प्रधानमन्त्री पनि बनिसकेकाले केही बढी जानकारी आफुलाई भएको हुनसक्ने उनको तर्क छ ।

नेता नेपालले भने, ‘जहाँसम्म दरबार हत्याकाण्डको कुरा छ । त्यतिखेर मेरो नाम आएको थियो । तपाइँहरुले बिर्सिनुभएको छैन् होला । मैले के राखेको थिएँ भन्दा म भनेको कम्युनिष्ट पार्टीको नेता हो । म प्रतिपक्ष दलको नेता हो भने सत्तापक्षको नेता पनि त्यो आयोगमा बस्नुपर्छ । गिरिजाबाबु बस्ने हो भने म पनि बस्छु, होइन भने दोष हामीलाई आउने अनि नेपाली काँग्रेस जोगिने त्यो बेलाको स्थिति बन्थ्यो । त्यसैले मैले अरुले बसेर हुँदैन, राजनीतिक नेतालाई राख्ने हो । होइन भने राख्नै छ भने हाम्रो पार्टीबाट भरतमोहन अधिकारीलाई राख्नुस् । उहाँ कानूनको ज्ञाता पनि हो भनेर मैले प्रस्ताव राखेको थिएँ । त्यो कुरा सुन्नमा आएको थिएन । तर यो पनि सत्य हो, त्यो आयोग बनाउन मेरो नै भूमिका थियो ।

उनले थपे, ‘तत्कालीन राजा ज्ञानेन्द्र मानिरहेका थिएनन् । उनी राजा त भइसकेका थिएनन्, उनले भनिरहेका थिए, म आफैँ गर्छु छानबिन । तपाइँको छानबिन कोही मान्नेवाला छैनन् भन्ने मान्छे मै हुँ । छानबिन आयोग बनाउन त बनाए । मलाई पनि जोडिदिए । राजा वीरेन्द्रको अन्तिम संस्कार भइरहेको बेलामा आर्यघाटमा म थिएँ । सभामुख तारानाथ रानाभाट, प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको छानबिन आयोगले छानबिन गर्यो ।

आयोगले कति सबै ल्याउन सक्यो-सकेन, आफ्नो ठाउँमा छ । अहिले प्रधानमन्त्रीजीले फेरि छानबिन गर्ने कुरा गर्नुभयो । यस्ता कुराका बारेमा अलि सरसल्लाह गरेको भए राम्रो हुन्थ्यो । हामीसँग पनि सल्लाह भएको छैन् । मैसँग पनि सोधे त हुन्थ्यो नि । कमसेकम गिरिजाबाबुले त मलाई सोध्ने गर्नुहुन्थ्यो । के गर्ने माधव बाबु ? भन्नुहुन्थ्यो । हाम्रो प्रचण्डजी छिटो बोलिहाल्नुहुन्छ ।’माधव कुमार नेपालले एमालेप्रति लक्षित गर्दै कतिपयलाई गठबन्धन नपचेर वान्ता हुने गरेको भन्दै गठबन्धन पाँच वर्षसम्म चल्ने दाबी गरेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू