Ads

यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो: ओली


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई अलाेकतान्त्रिक र भ्रष्ट सरकारको संज्ञा दिएका छन् ।

शुक्रवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघको अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सरकारले लोकतान्त्रिक पद्धति मासेको आरोप लगाए ।

वर्तमान सरकारले लोकतान्त्रिक पद्धति नै मासेको ओलीको आरोप छ । सरकार गैरकानुनी र बेथितिबाट चलेको उनले बताए । ‘यो काम नलाग्ने, अलोकतान्त्रिक भ्रष्ट सरकार हो । यो सरकार भनेको कानुनअनुसार चल्ने मूल्य, मान्यताअनुसार चल्ने सरकार होइन । गैरकानुनी बेथितिसँग चल्ने सरकार हो,’ ओलीले भने ।

आजबाट स्काउटको अधिवेशन हुने भनेर सम्पूर्ण तयारी गरिसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदेश दिएर अधिवेशन रोकेको ओलीको आरोप छ । सत्ता गठबन्धनले हार्ने भएपछि अधिवेशन रोकिएको उनले दाबी गरे ।

‘विदेशी पाहुना आइसके, सबै ठाउँमा अधिवेशनको तयार भइसक्यो । गठबन्धनले नजित्ला जस्तो देखियो रे । आजबाट सम्मेलन छ, चुनाव होला सायद । हिसाब गर्दा गठबन्धनले नजित्ने सम्भावना देखियो रे,’ ओलीले भने, ‘त्यसो भएर सम्मेलन स्थगित गर्नु, संस्थाको खर्च भयो होला, पाहुना आएका छन्, त्यहाँका नेतृत्व आएका छन् । नेपालको इज्जत के हुन्छ ? इज्जत, बेइज्जतको ख्याल छैन ।’

स्काउट एक स्वतन्त्र संस्था भएको तर स्काउटमा गठबन्धन हार्ने, प्रधानमन्त्री हार्ने कुराले अधिवेशन रोकिने कुरा आफूले बुझ्न नसकेको उनको तर्क छ । ‘मैले प्रधानमन्त्रीलाई सोधेँ तपाईंहरू हार्ने भएको हो ? अलि मिलाएर लैजाऔँ, के भनेको त्यो । मिलाएर लैजाऔँ भनेको के ? रोक्ने आदेश गरेर । यस्तो स्वेच्छाचारिता मनपरी नगर्नुस् । मैले प्रधानमन्त्रीलाई सुझाव दिएको छु । के गर्नुहुन्छ थाहा छैन,’ उनले भने ।

स्काउटको सम्पत्ति कांग्रेसले अहिलेसम्म लुटेर खाएको उनले बताए । ‘सम्पत्ति लुटेर, हडपेर त्यहाँ कांग्रेसले लुटेर खाइरहेको छ अहिले पनि । दादागिरी मसल देखाएर खाइरहेको छ । स्काउट राम्ररी चल्नु भएन, स्काउटले राम्रोसँग काम गर्नु भएन भनेर यसलाई भंग गरेको हो,’ उनले भने ।

रेडक्रस, गैरआवासीय नेपाली संघ चल्न नदिनेलगायतका उद्दण्ड काम सरकारले गरिरहेको ओलीको आरोप छ । ‘रेडक्रस चल्न नदिने कस्तो सरकार हो ? उद्दण्डताको पनि हद हुन्छ । गैरआवासीय नेपालीहरूले आफ्नो संस्था बनाए त्यसमा हस्तक्षेप गर्ने । अधिवेशनमा कार्यकर्ता लगाएर कुर्सी तोडफोड, अनेक प्रकारका हुलदंगा । कस्तो सरकार बन्यो हेर्दाहेर्दै नेपालमा ?’ उनले भने, ‘डेमोक्रेसी भनिन्छ, प्रणाली डेमोक्रेसी, प्रणाली नै मास्यो त यहाँ । चुनाव हुन नपाउने, उनीहरूले नै जित्नुपर्ने, उनीहरूकै कब्जा हुनुपर्ने के हो डेमोक्रेसी र प्रणाली भनेको ?’

Ads

सम्बन्धित पोष्टहरू