दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विकास निर्माणमा तीनै तहका सरकारहरूबीच सहकार्य हुन आवश्यक रहेको बताएकी छिन् । नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित दाङका जनप्रतिनिधि तथा सचिवालयका कर्मचारीसँग भएको तीनै तहका सरकारको कामको समीक्षा र आगामी योजनाबारे एक दिवसीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भनिन्, “स्थानीय, प्रदेश र सङ्घ सरकारबीचको सहकार्यले नै विकासले गति लिन्छ ।”
मुलुक सङ्घीयतामा गएसँगै गाउँगाउँमा जनताले अनुभूति गर्नेगरी विकासका गतिविधि भइरहेको समेत उनले बताइन् । साथै आमसञ्चारसम्बन्धी पुराना ऐनलाई पुनःसंरचना गर्ने गरी कानुन बनाइरहेको उनको भनाइ थियो ।
उनले दाङको चारलेन, टरिगाउँ विमानस्थल निर्माणका लागि बजेट नपरेको भनेर जनता आक्रोशित भएको भन्दै यसमा आक्रोशित नहुनसमेत आग्रह गरिन् । “चार लेनका लागि हामीले आन्तरिकरुपमा काम गरिरहेका छौँ, भारतीय एक्जिम बैंककै लगानीमा निर्माण हुन लागेको अबको एक महिनाभित्र बोलपत्र भइ काम अघि बढ्छ”, उनले भनिन्, “विमानस्थल विस्तारका लागि पनि पहल भएको छ ।”
त्यस अवसरमा लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री धनबहादुर मास्कीले जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए । जनताले जिम्मा दिएर पठाएपछि त्यो जिम्मेवारीबाट पन्छिँदा नै जनतामा वितृष्णा पैदा हुने गरेको उनको भनाइ थियो । कार्यक्रममा माओवादी केन्द्रका जिल्लास्थित केन्द्रीय सदस्य, प्रदेश सदस्य, दाङका सबै पालिकाका पार्टी निकट जनप्रतिनिधि सहभागी थिए ।
प्रतिक्रिया दिनुहोस्